सिन्धुपाल्चोक पहिरो : १३ घर पुरिए, पाँच परिवार बेपत्ता, हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् । पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ।

सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।

घटनास्थल दुर्गममा भएकाले उद्धारमा पैदल जान कठिनाइ भएकाले हेलिकोप्टर बोलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

उनका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन।