हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।
चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले लाम र हङकङ तथा चीनका अरु १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो।
अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले प्रतिबन्धको घोषणा गर्दै अमेरिका अहिले पनि हङकङका नागरिकको पक्षमा रहेको उल्लेख गरेका छन्।
पछिल्लो समय अमेरिका र चीनबिचको तनाव पछिल्लो समय लगातार बढ्दै गएको छ।
लाममाथि प्रतिबन्ध लगाउनु केही अघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वीच्याट र टिकटक एप्लिकेशनका चिनियाँ मालिकसँग अमेरिकी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
राज्यकोष मन्त्रालयले लगाएको प्रतिबन्धमा लामसँगै हङकङका प्रहरी कमिशनर तथा राजनीतिक अधिकारीहरु रहेका छन्।
अमेरिकाको राज्यकोष मन्त्रालयले लाममाथि स्वतन्त्रता खुम्च्याउने र प्रजातान्त्रिक अभ्यास साँघुरो बनाउने चीनको नीति लागु गरेको आरोप लगाएको छ।
लाम लगातार आलोचनाको केन्द्रमा रहँदै आएकी छन्, गएको वर्ष सुपुर्दगी सम्बन्धी विधेयकलाई लिएर लामो समय विरोध प्रदर्शन भएपछि उनी सो विधयेक फिर्ता लिन बाध्य भएकी थिइन् ।











