वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

Virus Outbreak India

वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले ती महिलाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेकी ती महिलालाई निमोनियाजस्तो देखिने लक्षण देखिएपछि महिलालाई उपचारको लागि साउन १४ गते गण्डकको वयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

साउन १६ गते बिहान सबा १० बजे उपचारको क्रममा मृत्यु भएको थियो । उपचारको क्रममा मृत्यु भएकी ती महिलाको मृत्यु भइसकेपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । योसँगै पर्सा जिल्लामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले बताए।

छ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज

वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेको उपचारपश्चात कोरोनामुक्त भएर छ जना डिस्चार्ज भएका छन् । अस्पतालका ईन्चार्ज डा. निरजकुमार सिंहले आज शनिबार कोरोनालाई जितेर सङ्क्रमणमुक्त भएका छ जना डिस्चार्ज भएको जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएपछि साउन ७ गते कोभिड अस्पताल भर्ना भई उपचार गराइरहेका एक जना र साउन ८ गतेदेखि अस्पतालमा उपचार गाराइरहेका पाँच जना आज शनिबार डिस्चार्ज भएको डा। सिंहले जानकारी दिए । डिस्चार्ज भएकाहरूमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरी उपचार थालिएको डा. सिंहले बताए ।