चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन्।
नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबिचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन्।
उनले दिपक्षीय सम्बन्ध बिस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि व्यक्त गरेको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।
कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताएका छन्।
यस्तै क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध बिस्तार आफ्नो प्राथमिकतामा रहेको सीले सन्देशमा उल्लेख गरेको सिन्ह्वाले जनाएको छ।
नेपाल–चीन सम्बन्धको इतिहास पुरानो रहेको स्मरण गर्दै उनले यो सम्बन्ध समयकाल अनुसार नयाँ पनि बन्दै जाने बताएका छन्।
कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्षे इतिहासमा दुई देशले एकअर्कालाई आदर गरेको र दुवैलाई बराबरका रुपमा स्वीकार गरेको सीले सन्देशमा उल्लेख गरेका छन्।
राजनीतिक रुपमा दिपक्षीय साझा समझदार रहेको र दुवै पक्षलाई हित हुनेगरी सहकार्य गरिएको उनले बताएका छन्।
गएको वर्ष भएको नेपाल भ्रमण स्मरण गरी उनले राष्ट्रपति भण्डारीसँगको भेटले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको उल्लखे गरेका छन्।
दुई देश हरेक सहज–असहज परिवेशमा साथमा रहेको सीले सन्देशमा उल्लेख गरेका छन्।