प्रचण्ड र बादल समूहको काठमाडौंमा छुट्टाछुट्टै भेला

पूर्व माओवादीका केही स्थायी कमिटी सदस्यहरुपनि प्रचण्ड कित्ता छोडेर ओली कित्तामा प्रवेश गरेको राजनीतिक बृत्तमा चर्चा हुन थालेपछि प्रचण्ड निवास खुमलटारमा स्थायी कमिटी सदस्यहरु हरिवोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी पुगेका थिए । उनीहरुको साथमा देवेन्द्र पौडेल, चक्रपाणि खनाल, जनार्दन शर्मा लगायतका नेताहरुको पनि सहभागिता थियो ।

उनीहरुलाई प्रचण्डले बर्तमान सन्दर्भका बारेमा सबै कुरा खुलस्त राखेपछि ती नेताहरुले ‘अव सबै कुरा क्लियर भयो’ भन्दै उत्साहित भएर बाहिरिएको खुमलटार श्रोतले बतायो । पूर्व माओवादीबाट केपी ओली खेमामा हालका उद्योगमन्त्री लेखराज भट्ट मात्र रहेको जनाइएको छ । उक्त छलफलमा पुर्व माओवादीहरु सबै एकै ठाउँ रहनुपर्ने निस्कर्ष निस्किएको भेटपछि एक स्थायी समिति सदस्यले झिल्कोलाई बताए ।

त्यसैगरी पूर्व माओवादीबाट छुट्टिएर मोहन वैद्य समूहमा गएका र पुनः प्रचण्ड समूहमै फर्किएको बर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहको पनि छुट्टै भेला भएको छ । बिहीबार मन्त्री निवास पुल्चोकमा भएको भेलामा बादल समूहका स्थायी कमिटी र केन्द्रीय कमिटी गरी दुई दर्जन नेताहरुको सहभागीता रहेको थियो ।

सहभागी केही नेताहरुले प्रचण्डसँग मिलेर जानुपर्ने धारणा राखेका थिए भने केही नेताहरुले महाधिवेशनसम्म ओलीसँगै मिलेर जानुपर्ने धारणा राखेको बुझिएको छ । ‘उपत्यका बारिह रहेका तर बिगतमा आफुसँगै रहेका केही प्रतिनिधिमूलक केन्द्रीय कमिटीका साथीहरुलाई बोलाइएको हो’, एक स्थायी समिती सदस्यले बताए । ती नेताका अनुसार पार्टीभित्र अहिले गम्भीर समस्या आइपरेको हुनाले कसरी अघि बढ्न सकिन्छ र के धारणा बनाउन सकिन्छ भनेर छलफलमा जुटिएको हो । मुख्यतः पार्टी एकता जोगाउन सक्दो भूमिका निर्वाह गर्ने र अहिले देखिएको पार्टी भित्रको आन्तरिक समस्या समाधानको बाटो निकाल्न बहस केन्द्रित भएको उनले बताए ।

पार्टी एकता महत्वपूर्ण रहेको र विचारका हिसाबले प्रचण्डसँगै रहने र पार्टीभित्र देखा परेका समस्या महासधिवेशनमार्फ समाधान गर्नुपर्ने बादलको धारणा थियो । एमसीसी, संसद विघटन, राष्ट्रपति शासन, अध्यादेश लगायतका विषयमा भने सहमत हुन नसकिने उनको धारणा रहेको बैठकमा सहभागी एक नेताले बताए । प्रचण्ड र बादलसँग छलफल गरेरै अघि बढ्ने र यदि पार्टी फुट्नै लाग्यो भने मात्र ‘पोजिशन क्लियर’ गर्नुपर्ने धारणा बादलको रहेको पनि ती नेताले बताए ।

पार्टी एकता भएको २६ महिनापछि बादलले आफ्नो समूहको बैठक डाकेको यो पहिलो पटक हो । यो बैठकले पार्टीमा गुटको भेला गराएको भन्दा पनि पार्टीलाई अझ बढी सुदृढ, एकताबद्ध र नीति, पद्धती, शिद्धान्तमा कसरी रहने भन्ने सन्देश दिन खोजिएको जनाइएको छ ।

कतिपय नेताहरुले त यस्तो तरिकाले पार्टी नचल्ने हुँदा आ–आफ्नो विचारसमूहको भेला गरेर ‘कित्ता क्लिय’र गर्नु पर्नेसम्मको धारणा ब्यक्त गर्न थालेका छन् । त्यसोत प्रधानमन्त्री ओलीले पनि केही हप्ता अघि आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई ‘कित्ता क्लियर’ गर्न चेतावनी दिएका थिए ।

केही दिन अघि सचिवालय सदस्य बामदेव गौतमको भैँसेपाटी निवासमै प्रधानमन्त्री केपी शर्मा ओली ‘डिनर’का लागि सवार भएपछि त नेकपा भित्रको राजनीतिक तरलता झनै पेचिलो बन्दै गएको छ । बामदेवले छ बुँदे प्रस्ताव अघि सारेपछि उनी पुनः ओली कित्तामा पुगेको नेकपा भित्रको पछिलो राजनीतिक निश्कर्ष हो ।

यता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई झुक्याएर राष्ट्रपति भवनमा पुर्याइएको भन्दै अभिब्यक्ति दिएपछि पूर्व माओवादी नेताहरु पनि प्रचण्डप्रति सशंकित बनेका छन् । त्यति मात्र होइन माधव नेपाल समूहका नेताहरु पनि प्रचण्डसँग सशंकित बनिरहेका छन् ।