प्रदेश १ सरकारले समुदायस्तरमा कोरोनाभाइरस कोभिड १९ संक्रमण फैलिएको जनाएको छ । समुदायस्तरमा कोभिड १९ फैलिएसँगै प्रदेश राजधानीमा निषेधाज्ञा वा लकडाउन लगाउने वा नलगाउने बहस यथावत जारी रहेको छ ।
प्रदेश सरकारले मुख्यतः प्रदेशको १४ जिल्ला मध्ये उदयपुर, मोरंग, झापा, सुनसरी र इलाम कोभिड १९ को जोखिममा रहेको जनाइसकेको छ । तर लकडाउन खुल्ला भएसँगै संक्रमितको चाप बढ्दै गएको छ ।
हाल प्रदेश र विराटनगरमा समुदायबाटै संक्रमण फैलिएको हो वा अस्पतालबाट निस्किएकाबाट समुदायमा संक्रमण फैलिएको हो बहस जारी रहेको छ । समुदायमा देखिएका संक्रमित केहीका ट्राभल हिष्ट्री हेर्दा अस्पतालसँगै जोडिएको देखिन्छ ।
यससँगै समुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिएको जनाइरहँदा यसको मुख्य जड कहाँ हुन सक्ला भन्ने विषयमा विराटनगरका स्वास्थ्यकर्मीहरु समेत अब मुख्यगरि अस्पतालमा सरकारले ध्यान पु¥याउन जरुरी भएको जनाँउछन् ।
गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केको एकमस्जिदबाट संक्रमण देखिएको थियो । यसक्रममा प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाबाट संक्रमण फैलिएको जनाएको थियो ।
अस्पतालबाटै फैलिएको हो कि ?
सरकारले लकडाउन खुला गरेको एकदिन अघि साउन ६ गते मंगलबार विराटनगर महानगरपालिकामा ३ जना पुरुषमा संक्रमण देखिएको थियो । जसमा प्रहरी निरीक्षक, वडा नम्बर ६ का २५ वर्षीय युवक र तत्कालिन सम्पर्कमा आउन नचाहेका विराटनगर अस्पतालका चिकित्सक रहेका थिए ।
महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार वडा नम्बर ६ का युवकमा संक्रमण देखिनुपूर्व उनी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि पुगेका थिए ।
लकडाउनका क्रममा काठमाडौँबाट आएका उनको दाँतमा समस्या रहेको र सोही उपचारका लागि त्यहाँ पुगेको बताइन्छ । उनमा संक्रमण देखिएपछि परिवारका अन्य सदस्य हजुरआमा, आमा र बुबाको पीसीआर पोजेटिभ आएको छ । उनीहरु सबै उपचारका क्रममा रहेका छन् ।











