पार्टीलाई विभाजन हुनबाट जोगाउन उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ: अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएको छ ।

प्रचण्डले बैठकका लागि बालुवाटार पुगेका नेताहरुलाई ब्रिफिङ गरिरहेको स्रोतको दाबी छ । अध्यक्ष प्रचण्डले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् ।  पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए । 

प्रचण्डले भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’

बैठक अगाडि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेको बताइएको छ ।

प्रचण्डले ओलीसँगको सहमतिमा बैठक सुरु गरेका हुन् वा ओलीको असहमतिकैबीच बैठक अघि बढाएका हुन् भन्ने खुलिसकेको छैन ।