पूर्व डिआइजी कोइराला सम्बन्धी फैसलाको पुनरावलोकन सुनुवाई आज

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष ६ महिना कैद सजाय मात्रै तोकेको थियो । सो अवधिको सजाय काटी कोइराला गएको बिहीबार डिल्लबजार कारागारबाट मुक्त भएका थिए ।

सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गरेको थियो । त्यसको पेसी आइतबारका लागि तोकिएको हो ।

सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।