वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा देखिएपछि आकश्मिक बाहेकका स्वास्थ्य सेवा बन्द

नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकश्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु हुनेगरी आकश्मिक बाहेकका सबै सेवा बन्द गर्न आग्रह गरेको हो।

कोरोना महामारीको जोखिमपूर्ण अवस्थामा साउन ९ गते देखि अर्को सूचना नभएसम्मका लागि आकाश्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न र कोरोना नियन्त्रणका लागि डब्लूएचओले निर्धारण गरेको गाइडलाइनलाई पूर्णरुपमा पालना गरेर मात्र आकाश्मिक सेवाहरु प्रवाह गर्न सघले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

‘कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै अविलम्ब मास टेस्टिङ, लगायत अन्य आवश्यक कदम चाल्नुका साथै यस क्षेत्रका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई अविलम्ब पर्याप्त मात्रमा सुरक्षा सामाग्रीहरु उपलब्ध गराउन सरकार लगायत सम्पूर्ण सरोकारवालाहरुसँग माग गर्दछौँ’, संघका सचिव डा. उदय नारायण सिहंले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।