एसिड आक्रमणकारी पक्राउ

राजधानीको सीतापाइलामा एसिड आक्रमणमा परेकी युवतीले सुरुमा कसैमाथि शंका गरिनन् । आफूसँग कसैको झगडा नभएको र रिसिबी पनि कसैसँग नरहेको भन्दै उनले कसैलाई शंका गर्न नसकेको बयान प्रहरीलाई दिइन्।

तर प्रहरीले एसिड आक्रमणमा परेकी २२ वर्षीया पवित्रा कार्कीको मोबाइलको कल डिटेल हेरेर घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गर्न सफल भएको जनाएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार काठमाडौँको डल्लु बस्ने मोहम्मद आलमले एसिड आक्रमण हुनुभन्दा केही समयअघि पवित्राको मोबाइलमा झण्डै ५० पटक फाेन गरेको देखिन्छ।

यसबारे सोधपुछ गर्दा पवित्राले आलम आफ्नो दाई जस्तै भएको बयान दिइन्। तर प्रहरी उनको यो बयानमै सीमित रहेन । पवित्राको मोबाइलमा देखिएको कल डिटेलको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले डल्लुबाट मोहम्मद आलमलाई पक्राउ गरेपछि घटनाको भेद खुल्यो।

आलमको बयानको आधारमा भारतीय नागरिक मुन्ना महम्मद पनि पक्राउ परे। दुवैजनाले घटनामा आफूहरुको संलग्नता स्वीकार गरिसकेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एसिड आक्रमका मुख्य योजनाकार रहेका मोहम्मदले बजारबाट फर्कने क्रममा पवित्रालाई उनी बस्ने कोठा नजिकै छोडेका थिए।

युवती र आक्रमणकारी । सीसी टीभी फुटेजको दृश्य ।

उनले पवित्रा त्यहाँ पुग्नुभन्दा पहिले नै एसिड आक्रमणका लागि भारतीय नागरिक मुन्ना महम्मदलाई त्यहाँ खटाइसकेका थिए। पवित्रालाई फोन गरिरहँदा मोहम्मदले मुन्नालाई पनि लगातार फोन गरेको पाइएको प्रहरीले जनाएको छ।

पवित्रालाई छोडेर मोहम्मद फर्केलगत्तै मुन्नाले उनीमाथि एसिड प्रहार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । मोहम्मद आलम र पत्रिवा कार्कीबीच मोबाइलमार्फत दिनहुँ जसो कुरा भइरहने पाइएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन्।

रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले बिहीबार राति ११ बजे पक्रेको हो।

एसिड प्रहार भएकी २२ वर्षीया पवित्रा कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ। पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ।