गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटिएपछि मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताए। शनिबार यता २ सय ५५ जनाको परीक्षण गरिएको छ। शनिबारसम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो। यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परिक्षण भएको प्रवक्ता देवकोटाले बताए। यसमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन्।
प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताए। यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको समेत उनले बताए। संक्रमणको जोखिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुरमा र्यापिड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण शुरु गरिएको समेत उनले बताए। जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उनले बताए।
काठमाडौं उपत्यकाभित्र १६ जना र काठमाडौंबाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताए। यस्तै रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेको उनले बताए। यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमुना संकलन समेत भएको उनले बताए।
विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका २६ जना स्वास्थ्य कर्मीहरुलाई कोभिड १९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उनले बताए।
निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई सरकारले आवश्यकता अनुसार परिचालन गरेर आ–आफ्नो तह अनुसार सुविधा दिने निर्णय गरे अनुसार काम अगाडि बढाइएको समेत उनले बताए।











