नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको ब्रिफिङः ओम्नी समूहसँगको सम्झौता थाहै थिएन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको बताएका छन् ।

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको प्रयासबारे झण्डै डेढ घन्टा जानकारी गराएका थिए ।
उनले स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौताबारे आफूलाई पूर्व जानकारी नै नभएको बताएपछि नेताहरु मुखामुख गरेको सहभागी एक नेताले बताए । ‘स्वास्थ्य सेवा विभागका महानिर्देशक स्तरमा सम्झौता भएको हरेछ, त्यो मेरो जानकारी भन्दा बहिरको कुरा थियो,’ उनले भनेका थिए।
प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री तथा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए ।
लगतै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुले सरकारले गरिरहेको काम सकारात्मक भएको र त्यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरुले यो संकटको घडीमा पार्टीभित्र एकता अझै मजबुत बनाउनुपर्नेमा जोड दिएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।
जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठकमा आएको सुझावलाई मनन गर्दै अघि बढ्ने बताए ।