शक्ति संघर्षका कारण आन्तरिक कहल उत्कर्षमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पक्षीय स्थायी कमिटि सदस्यहरुसँग छलफल गरेकाछन् ।
प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी खेमाका नेताहरु सोमबार भेला भएका हुन् । सो भेलामा उद्योगमन्त्री लेखराज भट्ट सामेल भएका छैनन् । गृहमन्त्री रामबहादुर थापा बालद भने केही बेर छलफलमा सहभागी भएर पछि आउँछु भनि निस्किएको बताइएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमै पछिल्लो समय समस्या देखिएको छ ।
पार्टीभित्रको विवादमा पूर्व खेमाको समान धारणा बनाउने र एक ठाउँमा उभिनेबारे भेलामा छलफल भएको एक नेताले जानकारी दिए। छलफल बिहान ८ बजेदेखि दिउँसो १२ः १५ सम्म चलेको थियो।
दाहाललाई अर्का अध्यक्ष ओलीले मंसिरमै महाधिवेशन गरेर पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरेपछि त्यसलाई स्वीकार गर्ने कि नगर्ने भन्ने अलमलमा प्रचण्ड छन्।
शनिबार बेलुका भएको स्थायी समिति बैठकमा ओलीको प्रस्ताव स्वीकार गरेका दाहालले आइतबार बिहान माधव नेपाल, झलनाथ खनाललगायका नेताहरुसँग आफूले ओलीको प्रस्ताव स्वीकार नगरेको बताएका थिए।
दाहालको उक्त भनाइपछि उनी आफ्नै गुटमा समेत आलोचित भए पनि भावी रणनीतिबारे छलफल गर्न उनले सोमबार आफू पक्षीय नेताहरुको भेला राखेका हुन्।