स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको जानकारी दिएको छ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाभित्र समुदायस्तरको भीडभाड हुने विभिन्न स्थानहरुमा ४ हजार ८०० जनाको परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए।
समुदाय स्तरको परीक्षणको क्रममा जम्मा तीनजनामा पोजेटिभ आएको जसमध्ये दुईजना विदेशबाट आएका र एकजना व्युटी पार्लर व्यवसायमा संलग्न भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
डा.गौतमले धेरै भीडभाड भएको ठाउँमा कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने जोखिम बढी हुने भएकाले त्यस्तो ठाउँमा नजान आग्रह गरे।
मन्त्रालयले काभिड–१९ भन्दा पहिलाको जस्तो सामान्य अवस्थामा फर्किन समय लाग्ने बताएको छ।
काठमाडौँ उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ।