प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, दुईवटै पद छोडनुपर्छ भन्ने कुरा कुतर्क हो: नेता बाँस्कोटा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् ।

उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठ्नुमा कुनै तर्क नभएको बताए । नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताए ।

उनले भने, ‘खासगरीकन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, दुईवटै पद छोडनुपर्छ भन्ने कुरा काम नलाग्ने कुतर्क हो । यो त नेताहरुलाई पनि थाहा छ । त्यसैले जे मिलेको छैन उहाँहरु छलफल गर्नुहुन्छ । दुईवटा अध्यक्षले लामो छलफल गर्नुहुन्छ होला । संवादबाटै निकास खोज्ने हो । त्यस्तो धेरै पेचिलो छैन ।’

नेता बाँस्कोटाले नेकपासँग विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको पनि बताए ।

उनले भने, ‘नेकपासित के विकल्प छन ? या त विभाजन हुन पर्‍यो या त एकता गर्नपर्‍यो या त कम्प्रमाइज गर्नपर्‍यो । यो भन्दा बाँकी त कुनै विकल्प नेकपासित छैन नी । सबैलाई थाहा छ नेकपा संक्रमण कालमा चलिरहेको छ । त्यसैले यस्तो बेलामा दुईवटा स्कुलिङको द्धन्द्धपनि देखिन्छ । त्यो कुरा नेताहरुलाई थाहा छ ।’

उनले बैठकमा राजीनामाको कुरा उठ्नु स्भाविक भएको बताए । लोकतन्त्रमा आफ्ना कुरा सबैले राख्न सक्ने तर अहिलेसम्म लक्ष्मण रेखा कसैले ननाघेको बताए ।

उनले भने ‘बैठक बस्छन् आफ्ना कुरा राख्छन्, आफ्नो दृष्टिकोण राख्छन् तर लक्ष्मण रेखा कसैले पनि नाघेको मैले देखेको छैन । नाघ्ने कोसिस पनि कसैले गर्दैन किनभने एकता गर्दा नै यसका पेचिला पक्ष र यसका उज्वल पक्षहरुको बारेमा जानकार नै छन् ।’

उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पादबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए ।

उनले अझैपनि मेजोरिटी प्रधानमन्त्रीकै नाममा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । उनले व्यक्ति हेरेर सिद्धान्तहरुको निरुपण वा प्रतिवादन गर्न नहुने समेत बताए ।

प्रधानमन्त्री पाँच वर्षलाई निर्वाचित भएको र दुईवटा अध्यक्ष महाधिवेशन नहुँदा सम्मलाई अध्यक्ष भएकाले एक व्यक्ति एक पद लागू नहुने पनि उनले स्पस्ट पारे । उनले अहिले प्रधानमन्त्रीमाथि कुनै ठूलो चौतर्फी आक्रमण पनि नभएको बताए ।

उनले भने, ‘चौतर्फी आक्रमण पनि छैन । प्रश्न उठनु आक्रमण होइन, प्रश्न उठनु आक्रमण मानिँदैन । प्रश्न उठ्छ जवाफ दिनेले जवाफ दिनुपर्छ । तथ्याङ्क पेश गर्नुपर्छ ।’

नेता बाँस्कोटाले संसद अधिवेशन अन्त्य गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेता र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी रहेको बताए ।

संसदको महत्वपूर्ण बिजनेस नभएको जानकारी सबैलाई भएको र त्यसै कारण संसदको अधिवेशन अन्त्य हुनुलाई कुनै अनौठो मान्नु नपर्ने उनले बताए ।