केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिए अहिलेको प्रणाली नै धरापमा पर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक शीर्ष नेताले चेतावनी दिएका छन् ।
पार्टी भित्र देखिएको आन्तरिक विवाद र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको विपक्षमा आवाज बलियो रुपमा उठेका बेला पार्टीका प्रभावशाली ओली पक्षीय ती नेताले अहिलेको समय प्रधानमन्त्रीको विकल्प खोज्ने नरहेको बताएका हुन् ।
उनले भने, ‘केपी शर्मा ओलीलाई अहिले प्रधानमन्त्रीबाट हटाउन खोजिए सिस्टम नै धराममा पर्छ । सिस्टम जोगाउनका लागि पनि अहिले विकल्प खोज्ने समय होइन ।’
पाँच जना सदस्यले धारणा राखेपछि सत्तारुढ नेकपाको बुधबारको स्थायी कमिटी बैठक सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेदेखि बसेको थियो । बैठक दिउँसो १ बजे सकिएको हो ।
आजको बैठकमा स्थायी कमिटी सदस्यहरु सदस्यहरू लीलामणि पोखरेल, मातृका यादव, एनके प्रसाईं र योगेश भट्टराईले बोलेका थिए। आमन्त्रित स्थायी समिति सदस्यहरू पेशल खतिवडा र नन्दु प्रसाईंले पनि आजको बैठकमा धारणा राखेका थिए।
प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि बिहान ११ बजे बस्ने छ ।