मेडिकल अक्सिन पाउन मुश्किल, कोरोना भाइरस विरुद्धको अभियान कमजोर बनेकोमा डब्लुएचओ चिन्तित

कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएकाहरुको जीवन रक्षाका लागि मेडिकल अक्सिन महत्वपूर्ण रहेको तर अक्सिनको अभाव हुन सक्ने देखिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

धेरै देशमा अहिले मेडिकल अक्सिन पाउन मुश्किल हुन थालेको र यसले गर्दा कोरोना भाइरसविरुद्ध अभियान कमजोर बनाउने डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।

उनले जेनेभामा भएको पत्रकार सम्मेलनमा भने, ‘विश्वका धेरै देशमा अहिले अक्सिजन कन्सनट्रेटरको भाव भएको छ । सो मेसिनको माग आपूर्ति भन्दा धेरै भएको छ ।’

पछिल्लो समय हरेक हप्ता १० लाखका दरले संक्रमित थपिएको र संक्रमितको संख्या बढ्दा अक्सिजन कन्सनट्रेटर अभाव भएको उनले बताए ।

डब्लुएचओले अहिलेसम्म १४ हजार अक्सिजन कन्सनट्रेटर किनेको र अब १२० देशमा पठाउने उनले बताएका छन् ।

डब्लुएचओका आपतकालीन टिमका प्रमुख डा. माइक रायनले अहिले दक्षिण अमेरिकी देशमा महामारी उच्च तहमा रहेको र सो क्षेत्रमा ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी भएको बताए।

अबको हप्ता विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड पुग्ने डब्लुएचओले बताएको छ । अहिलेसम्म विश्वमा ९१ लाख भन्दा बढी मानिसमा संक्रमित भएका छन् । यस्तै चार लाख ७० हजार भन्दा बढीको मृत्यु भएको छ ।