काठमाडौं उपत्यकामा पास विना नै बसहरू भित्रिन थालेका छन। बाँके, कैलाली, झापा लगायतका स्थानबाट पास विना नै यात्रुहरु बोकेर बस उपत्यका भित्रिन थालेको छ।
पछिल्लो समय लामो दुरीबाट आएका ५ वटा बस चेकजाँचका क्रममा महानगरीय प्रहरी बृत थानकोटले नियन्त्रणमा लिएको छ। मंगलबार मात्र थानकोट प्रहरीले बाँके र कैलालीबाट काठमाडौं भित्रिन लागेको दुइटा यात्रुबहाक बस नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको छ।
मंगलबार विहान कैलालीबाट आएको ना ५ ख २२८५ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। सो बसले ७ जना यात्रु बोकर आएको थियो। मंगलबार नै कैलालीबाट १२ जना यात्रु लिएर आएको ना ६ ख १३४० नम्बरको बस नियन्त्रणमा लिएको छ।
सो बसले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कृषि तथा पशुपन्छिजन्य कार्य गर्न भनि जारी भएको पास लिएको थियो। यसैगरी थानकोट प्रहरीले सोमबार बाँकेबाट ८ जना यात्रु बोकेर आएको माइक्रो, झापाबाट १९ जना यात्रु बोकेर आएको बस, झापाबाट आएको बस र नेपालगन्जबाट आएको एक बस पनि नियन्त्रणमा लिएको थियो।











