‘विदेशी बुहारी’लाई सात वर्षपछि मात्रै नागरिकता दिने सत्तारुढ नेकपाको निर्णय

नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ ।

नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । बैठकले सात वर्षपछि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकले सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र सो अवधिसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नका लागि जन्मदेशको नागरिकता भने परित्याग गर्नु पर्ने छ । प्रमुख विपक्षी कांग्रेसले भने अङ्गीकृत नागरिकताबारे हाल रहेको व्यवस्थालाई नै कायम गरिनुपर्ने बताएको छ ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले चाहेका बखत नेपाली नागरिकता लिन सक्ने विद्यमान व्यवस्था छ ।

राज्य व्यवस्था समिति र संसदमा नेकपाको झण्डै दुई तिहाई बहुमत रहेकाले नागरिकता ऐन २०६३ संशोधन भएर वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष पर्खिनु पर्ने व्यवस्था लागु हुने लगभग निश्चित जस्तै भएको छ ।

विद्यमान व्यवस्थाकै पक्षमा रहेको प्रमुख प्रतिपक्षी कांग्रेससँग पुनः छलफल गरेर हालको निर्णयबाट नेकपा पछि नहटेमा नागरिकता वितरण कडा हुने पक्का छ ।

नेकपाका नेताहरुले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका आफ्ना सांसदसँग विधेयकबारे छलफल गरेका थिए । सोही अनुसार शनिबार सचिवालयले निर्णय गरेको हो ।

नेकपाले निर्णय गरेसंगै अब नागरिकता विधेयक अघि बढ्ने भएको छ।