कोरोना महामारी लगायत मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने चुनौतीबारे गम्भीर बहस गर्न नेपाली सेनाको उच्च अधिकृत तहको तीन दिने बैठक शुक्रबारदेखि सैनिक मुख्यालमा सुरु भएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाद्वारा शुक्रबार बिहान उद्घाटित सम्मेलनमा सहायक रथी, उपरथी, रथी निर्देशक, पृतनापति सामेल छन् । छोटो सूचनामा बोलाइएको उक्त सम्मेलनमा प्रधान सेनापति थापाले कोभिड–१९ बाट उत्पन्न परिस्थिति, त्यसको नियन्त्रणमा संवैधानिक हिसाबले सेनाको संलग्नता सँगै मुलुकमा विप्लव माओवादीद्वारा हिंसाका गतिविधि बढाइने तयारी भइरहेको सूचना पनि वरिष्ठ सुरक्षा अधिकारीहरु समक्ष राखेका थिए ।
सम्मेलनका क्रममा प्रधान सेनापतिले उठाएका विषयहरुमा छलफल हुने र सम्भावित कारबाही (एक्सन प्लान)का लागि ‘इनपुट’का रुपमा सरकारलाई बुझाइने एक उच्च श्रोतले देशसञ्चार बतायो।
प्रधान सेनापति थापाले नेपाली सेना आन्तरिक भ्रष्टाचारविरुद्धमा लाग्दै सरकारले संवैधानिक तरिकाबाट दिएको निर्देशन अनुसार कोभिड १९बाट उत्पन्न परिस्थितिको नियन्त्रण र आवश्यक सामग्री खरिदमा लागेको तर उ विरुद्ध भ्रष्टाचार र अनियमितताका ‘नियोजित’ आरोप लागेता पनि यसबाट विचलित नभई आफ्नो राष्ट्रधर्म र संवैधानिक दायीत्व पूरा गर्न पछि नपर्ने बताए ।
कोभिड १९ महामारीको अवस्थामा विदेशबाट खासगरी युवाहरु लगायत ठूलो संख्यामा नेपालीहरु भित्रिने र बेरोजगारी लगायतका समस्याबाट उनीहरु निराश हुँदा उत्पन्न हुन सक्ने परिस्थिति पनि भोलि मुलुकको गम्भीर चुनौती बन्न सक्ने तर्फ उनले संकेत गरे ।
यी सबै परिस्थितिबाट फाइदा उठाउन केही शक्ति लाग्न सक्ने भन्दै प्रधान सेनापति थापाले त्यसका लागि पूर्व तयारी गर्नुपर्ने बारे पनि यो सम्मेलनमा छलफल हुनुपर्ने बताए ।
सामान्यतया, सेनाका वरिष्ठ अधिकृत (पीएसओ)को बैठक कम्तीमा ६ महिनामा एक पल्ट हुने परम्परा भए पनि बीचमा सम्पन्न हुन नसकेको यो बैठक छोटो सूचनामा बोलाइएको श्रोतले भन्यो ।