बाँकेमा उपचारपछि ४१ जना घर फर्किए

बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए ।

उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा कोरोना देखिएका व्यक्ति हुन् । जानकीको विभिन्न स्कूलमा रहेका उनीहरुलाई पोजिटिभ देखिएपछि जोगागाउँको नेरामाविमा राखिएको थियो । जहाँबाट एकजना फरार भएका छन् । उनी अहिलेसम्म भेटिएका छैनन् । प्रहरीले भारत गएको बताएको छ । ती व्यक्ति पनि डिस्चार्जको लिष्टमा परेका छन् ।

१४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका व्यक्तिलाई रिचेक नगरी पठाउने स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार यिनीहरुलाई पनि घर पठाइएको छ । बाँकेमा यी ४१ सहित अहिलेसम्म २ सय ५० जना डिस्चार्ज भएको कोरोनाका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

१४ दिन स्वतः घर पठाउने नीतिका कारण बाँकेका आइसोलेसन सेन्टरहरु धमाधम खाली भइरहेका छन् । जिल्लामा १४ वटा आइसोलेसन सेन्टर बनाइएकोमा अहिले ५ वटा खाली भइसकेका छन् ।

फोकलपर्सन श्रेष्ठका अनुसार, अब आइसोलसन सेन्टरमा ८३ जना बाँकी रहेका छन् । जिल्लामा १ सय ११ वटा क्वारेन्टाइन छन् । त्यसमा दुई हजार ९२ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई द्रतगतिमा पीसीआर जाँच हुन सकेको छैन ।