कोरोना संक्रमणबारे प्रधानमन्त्रीको ओलीको विश्लेषण : साउनमा उच्‍च, फागुनमा नियन्त्रण, मुत्युको संख्यामाथि फेरि प्रश्न

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली फोटोः प्रेस सल्लाहकार सूर्थ थापाको फेसवुक वालबाट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण साउन अन्त्यतिर पिक (उच्चविन्दु)मा पुग्ने विश्लेषण सुनाएका छन् ।

त्यसपछि बिस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठजस्ता चाडहरू आउँदैछन् । यो चाड सधैं रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उँधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’

मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरूलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजन बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन राष्ट्रिय सभामा पुगेका प्रधानमन्त्री ओलीले सम्बोधनको अधिकांश समय कोरोना भाइरसबारे बोलेका थिए । उनले अमेरिकी मिलेमियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे समेत धारणा राखेका छन् ।

मुत्युको संख्यामाथि फेरि प्रश्न

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण भएको मुत्युको संख्यामाथि फेरि प्रश्न उठाएका छन् । बुधबारसम्म मृतकको संख्या २० पुगेको भए पनि उनीहरूमध्ये २/३ जनाको मात्र ज्यान कोरोनाका कारण गएको उनले बताए ।

अरू कारणले मृत्यु भए पनि कोरोना संक्रमणको पुष्टि भएपछि कोरोनाबाट भएको मृत्युमा राख्नुपर्ने डब्ल्यूएचओको प्रोटोकलका कारण यस्तो भएको उनको दाबी छ । उनले भने, ‘कोभिड–१९ ले यति मृत्यु भएको होइन, भन्नु परेको मात्र हो ।’

२० जना पनि अरू धेरै देशको तुलनामा निकै कम भएको प्रधानमन्त्री ओलीले बताए । प्रतिदश लाख ०.७ प्रतिशत मात्र भएको भन्दै उनले भने, ‘हाम्रो उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर ज्यादै न्यून भएको हो ।’

सरकारले राम्रो तयारी गरेकै कारण संक्रमितको संख्या नियन्त्रित अवस्था रहेको र अहिले भारतबाट संक्रमित भएर आएकै कारण संक्रमितको संख्या बढेको उनले बताए । उनका अनुसार चैतमा १२ हजार ६५७, वैशाखमा ११ हजार ७४९ नागरिक भारतबाट आएका थिए । तर जेठमा २ लाख ४१ हजार ८६२ जना आए । भारतबाट आउनेहरूको फ्लो एकै पटक बढेकै कारण क्वारेन्टिन, स्वाब संकलन र परीक्षणमा केही समस्या देखिएको उनले बताए ।

यति ठूलो संख्यामा आएका मानिसहरूको विश्वको कुनै पनि देशले मापदण्डअनुसार क्वारेन्टिन गर्न नसक्ने उनको दाबी छ । व्यवस्थित क्वारेन्टिन स्थलहरू बनाउन मात्र पनि एक वर्ष लाग्न सक्ने भन्दै उनले भने, ‘भारतबाट थाम्न नसक्ने गरी मानिसहरू आए, तैपनि हामीले थाम्यौं ।’ समयमै लकडाउन गर्नुका साथै मास्क लगाउन, साबुन पानीले हात धुन नागरिकहरूलाई सिकाएको र अरू देशको तुलनामा नेपालमा राम्रो प्रवन्ध गरेको उनले बताए ।