
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।
सात सय पाँचजना पत्रकारहरुको बिमा यूनाइटेड इन्सुरेन्स कम्पनी मार्फत गरिएको हो । सो इन्सुरेन्सका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारहरुको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई एक संक्षिप्त समारोह बीच हस्तान्तरण गर्नुभएको छ ।
कोरोना भाइरसको पिसिआर परिक्षणमा संक्रमित भएको प्रमाणित भएमा बिमा गरिएका पत्रकारले एक लाख रुपैयाको बिमा रकम युनाइटेड इन्सुरेन्स कम्पनीबाट पाउने सञ्चार रजिष्ट्रार रेवती सापकोटाले सनराइज खबरलाई जानकारी दिनुभयो ।
बिमा रकम भुक्तानीका लागि कोरोना भाइरस संक्रमण देखिइ पिसिआर परिक्षणमा पोजिटिभ देखिएको हुनु पर्ने रेवतीले जानकारी दिनुभयो ।
‘हाम्रो बागमती प्रदेशमा क्रियाशील पत्रकारहरुको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील भइ प्रदेश सरकारले पत्रकारको मनोबल उच्च राख्न कोरोना बिमा गराएको हो । पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बिमाले सहयोग पुग्ने बिश्वास लिएका छौं’ सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक हजार जना पत्रकारको बिमा गराउने निर्णय गरेको मन्त्री शालिकराम जमकट्टेलले जानकारी दिनुभएको छ ।
बिमाका लागि आवश्यक विवरण प्राप्त भएका सात सय पाँच जनाको बिमा पहिलो चरणमा गराइएको छ ।
पत्रकार महासंघले हचुवाको भरमा विवरण पठाएको, वास्तविक क्रियाशील पत्रकार नसमेटिएको भनी गुनासो आएको छ । यस सम्बन्धमा रजिष्ट्रार सापकोटाले सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बिमा नगराएका, नेपाल पत्रकार महासंघको बागमती प्रदेश र नेपाल पत्रकार महासंघ उपत्यका समिति अन्तर्गतका शाखा, प्रतिष्ठान र एशोसियटसबाट प्राप्त बिववरणका आधारमा पत्रकारको कोरोना बिमा गराइएको जानकारी दिनुभयो ।
बागमती प्रदेशका १३ वटै जिल्लाका क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बिमामा समेटिएको छ ।