प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई पढ्न सुझाव दिएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै ओलीले सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरेको भन्दै आक्रोश पोखे।
ओलीले एमसिसीको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरुतर्फ लक्षित गर्दै भने, ‘मैले एमसिसी पढेको मान्छे भेटिन। खोजेर पढे हुन्छ। पढ्नभन्दा विरोध गर्न तम्सिएका छन्। खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँडिएको छ।’
एक वर्षअघि अमेरिकी सहयोग एमसिसी अनुमोदनका लागि संसदमा पेश भए पनि नेकपाभित्रकै विवादका कारण अघि बढ्न सकेको छैन।
नेकपाका शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्य भीम रावललगायका नेताहरु सम्झौता परिमार्जनपछि मात्र अनुमोदन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन्।
उनीहरुले सम्झौता जस्ताको त्यस्तै पारित भए देशको सार्वभौमसत्ता विरुद्ध हुने जिकिर गर्दै आएका छन्। विपक्षी कांग्रेस भने सम्झौता अनुमोदन हुनुपर्ने क्षमा उभिँदै आएको छ।
नेकपाकै नेताहरुलाई ओलीले कागले कान लगे नलगेको नछामी लहलहैमा लागेको आरोप लगाए। उनले भने, ‘कागले कान लग्यो भनेर छाम्दै नछामी लहलहैमा लागिएको छ। यो सडकको विषय पनि बनको छ। अन्त्यको विषयमा पनि बनेको छ।’
ओलीले एमसिसीको विरोध गर्नेहरु विकास विरोधी भएको भन्दै कटाक्ष गरे।











