सर्वसम्मतिले पारित भयो संविधान संशोधन, निशान छापमा नयाँ नक्सा राखियो

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ।

भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट सर्वसम्म पारित भएको हो।

संसदमा उपस्थित कुल २५८ जना सांसदमध्ये सबैले संविधान संशोधन पक्षमा मतदान गरेका छन्। विपक्षमा भने कुनै मत परेन।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्तावमाथिको छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो।

अब यो विधेयेक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्साले पूर्ण वैधानिकता पाउनेछ ।

सरकारले यसअघि नै नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरिसकेको छ । लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै भारतले कैलास मानसरोवर जाने बाटो निर्माण गरेर उद्घाटन गरेपछि नेपाल सररकाले भारतसँग गम्भीर असहमति जनाउँदै त्यो क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेको छ ।