धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु सदा मंगलबार मृतअवस्थामा भेटिए। सवारी ज्यानसम्बन्धि मुद्दामा दुई सातादेखि हिरासतमा रहेका शम्भु शौचालयको ‘भेन्टिलेसन’ मा झुण्डिएको अवस्थामा भेटिएका थिए। मुसहर समुदायका शम्भु गाउँकै एकजना साहुको ट्रयाक्टर चलाएर जीवनयापन गर्दै आइरहेका थिए।
बुवा रोजगारीको लागि भारतमा रहेकाले शम्भु आमासँगै गाउँमा बस्थे। शम्भुले चलाइरहेको ट्रयाक्टरले एक महिलाको ज्यान लिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो। घटनाको अनुसन्धान अन्तिम चरणमा थियो।
तर, एक्कासी खबर आयो हिरासतभित्रै शम्भुको ज्यान गयो भनेर। शम्भुको घाँटीमा टी–शर्टको पासो थियो भने मुखमा कपडा कोचिएको थियो। हिरासतमा एक्लै रहेका शम्भु अत्तालिएर आत्म हत्या गरेको प्रहरीको दाबी छ।
तर, प्रहरीको यस्तो दाबी शम्भुकी आमा सियालीदेवी सदा मान्न तयार छैनन्। सियालदेवीमात्र नभएर गाउँकै दलित अगुवाहरू प्रहरीले शम्भुको हत्या गरेर आत्महत्याको रुप दिन खोजेको दाबी गर्छन्।
हिरासतभित्रै शम्भुको ज्यान गएको खबर बाहिर आएलगत्तै स्थानीयले बुधबार बिहान प्रहरी चौकीमाथि ढुंगामुढा गरे। स्थिति तनावग्रस्त बनिरहेको थियो। स्थानीयले घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरे। आफन्त र स्थानीयहरूको मागअनुसार स्थानीय प्रशासनले शवको पोस्टमार्टम गरिँदा सिरहा अस्पतालका चिकित्सक दिलिप सदालाई पनि सहभागी गराउन तयार भयो।
तर, प्रादेशिक अस्पताल जनकपुरले पोस्टमार्टममा बाहिरको चिकित्सक सहभागी गराउन नसकिने भनेपछि चार दिन भइसक्दासमेत शवको पोस्टमार्टम हुनसकेको छैन। सहमतिअनुसार सिरहाका चिकित्सक सदालाई अनुमति नदिइएपछि शम्भुका आफन्त तथा दलित अगुवाहरूले जनकपुरमा प्रदर्शनसमेत गरेका छन् ।
आमा भन्छिन् छोराको हत्या गरियो
शम्भुकी आमा सियालीदेवी प्रहरीले छोराको हत्या गरेको दाबी गरेकी छिन्। हिरासतमा छोरा भेट्न जाँदा ‘आमा मलाई यहाँबाट छिट्टै निकाल्नुस, यिनीहरूले मलाई मार्छन्’, भनेको उनी आमा बतउँछिन्। छोराले भनेजस्तै हिरासतभित्र हत्या भएको सियालदेवी बताउँछिन्।
सियालदेवीले घटना भइसकेपछि प्रहरीले बेहोस बनाइ जबरजस्ती मुचुल्कामा सहीछाप गर्न लगाएको आरोप लगाएकी छिन्। घटना भएको राति प्रहरीले चौकीमा लगेर बेहोस बनाइ जबरजस्ती सहीछाप गराएको उनको दाबी छ।
तर, प्रहरीले भने शम्भुको हत्या भएको कुरा झुटो रहेको दाबी गरेको छ। शम्भुको हत्या गर्नुपर्ने कुनै कारण नै रहेको भन्दै आफूहरूमाथि लगाइएको आरोप निराधार रहेको इलाका प्रहरी कार्यालय सवैलाका इञ्चार्ज चन्द्रभुषण यादव दाबी गर्छन्। साथै, आफूहरूले जबरजस्ती सहीछाप गराएको कुरामासमेत कुनै सत्यता नरहेको उनको भनाइ छ।
‘घटनाबारे तत्काल जानकारी गराउन हामीले शम्भुकी आमालाई प्रहरी पठाएर चौकीमा बोलाएका थियौं,’ उनले भने, ‘उनी बेहोस अवस्थामा थिइन्। नजिकै रहेका एकजना स्वास्थ्यकर्मीलाई उपचार गर्न बोलायौं, उपचारको क्रममा स्वास्थ्यकर्मीले उनलाई सुइ दिएको हो। बेहोस गर्न होइन्।’
‘उहाँ होसमा आइसकेपछि मुचुल्कामा सहीछाप गर्न भन्यौं,’ प्रहरी निरीक्षक यादव थप्छन्, ‘उहाँले छाप लगाउन मान्नु भएन्, हामीले पनि जिद्दी गरेनौं। मुचुल्कामा वडा प्रतिनिधिहरुले सही गर्नु भएको छ। शम्भुकी आमाको सहीछाप भएको छैन।’
‘घटनाको छानबिन हुन्छ नै, उच्च तहबाटै छानबिन हुनुपर्दछ,’ प्रहरी निरीक्षक यादव भन्छन्,‘छानबिनपछि सत्यतथ्य पक्कैपनि बाहिर आउँछ।’
‘हिरासतभित्र भेट्न आएका आफन्तलाई शम्भुले चाँडै बाहिर निकाल्न भनेका रहेछन्, बाहिर ननिकाले आफूले आत्म गर्ने सुनाएका थिए,’ यादव भन्छन्,‘यस्तो कुरा हामीलाई सुरुमै जानकारी गराइदिनु पर्दथ्यो। हामी सुरक्षा प्रबन्ध मिलाउन सक्थ्यौं। तर, घटनापछि मात्रै थाहा भएको छ।’
शंकाको घेरामा प्रहरी
हिरासतभित्र रहेका व्यक्तिको सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रहरीको हुन्छ। हिरासतभित्रै शम्भुको ज्यान गएकोले अहिले सबैला प्रहरी शंकाको घेरामा परेको छ।
शम्भुले शौचालयभित्रै पासो लगाएका हुन् भने भुँइमाथि खुट्टा टेक्न सहयोग कसले गर्यो भनेर आफन्तहरुले प्रश्न उठाएका छन्। यसैगरी अनुहार अगाडीतर्फ राखेर शौचायलको भेन्टिलेसनमा उनी कसरी पासो लगाउन पुगे भनेर शम्भुका आफन्तले प्रश्न गरेका छन्।