कोरोना भाइरसको महामारीका कारण सरकारले लागु गरेको लकडाउनका कारण विदेशमा अहिले एक सय ५० भन्दा बढी नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेको छ।
सरकारले नेपालीको उद्धार गर्ने निर्णय गरेसँगै ती शव पनि नेपाल ल्याउने बाटो खुलेको छ। यसबीचमा एउटा शव भने नेपाल आईसकेको छ, यूएईबाट। नेपाल एयरलाइन्सले असार ३ गते कतारबाट १९ शव लिएर आउने निश्चित भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
‘संख्या आइपुगे पनि हामीलाई नामहरु प्राप्त भइसकेको छैन। नाम र ठेगान आइसकेपछि हामी अझ तयारी अवस्थामा बस्ने छौँ’, बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले भने।
त्रिभुवन विमानस्थलमा शव आइसकेपछि मृतकका परिवारको घरसम्म पुर्याइदिने काम बोर्डले गर्दछ। सुवेदीले विभिन्न देशमा रहेका कूटनीतिक नियोगलाई शवलाई पनि प्राथमिकता दिन आग्रह गरिएको बताए बताए।
कतारसहित साउदी अरब, कुवेत, मलेसियालगायत अधिकांश नेपालको वैदेशीक रोजगारीका प्रमुख गन्तव्य राष्ट्रहरुमा नेपाली कामदारको शव अलपत्र रहेको छ।
नेपालमा निरन्तर लकडाउनपछि सरकारले विदेशमै दाहसंस्कारका लागि सहमति दिने मृतकका परिवारलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने निर्णय पनि गरेको थियो। सुरुका दिनहरुमा परिवारले सहमति दिएपछि उद्धार गर्ने निर्णयपछि त्यो क्रम घटेको छ।