मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको पुनः परीक्षण सुरु गर्ने डब्लुएचओको निर्णय

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने भएको छ।

केही समयअघि एक विस्तृत अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढाउने देखिएपछि डब्लुएचओले परीक्षण तत्कालका लागि रोकेको थियो ।

तर डब्लुएचओका विज्ञहरुले होइड्रोक्सीक्लोरोक्वीनसहित सबै सम्भावित औषधिको परीक्षण सुरक्षित रुपमा गर्न सुझाव दिएका हुन् । विज्ञहरुको सुझावका आधारमा हाइड्रोक्सिक्लोरोक्वीनसहित सबै औषधिको परीक्षण नियमित गर्ने निर्णय भएको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस बुधबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

डब्लुएचओका प्रमुख डा. टेडरोजले भनेका छन्, ‘कार्यकारी समूहले हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण बारे आधिकारिक अनुसन्धानकर्तासँग परामर्श गर्ने छन् ।’ डब्लुएचओले विश्वका ३५ देशका करिब ३५ सय जनामा सम्भावित औषधिको परीक्षण गर्ने तयारी गरेको छ ।

डब्लुएचओले हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण अल्पकालका लागि रोकेपछि अरु निजी कम्पनीहरुले पनि परीक्षण रोकेका थिए ।

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर बन्द गरिएको थियो ।

प्रतिष्ठित जर्नल द लानसेटमा हालै प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको उल्लेख थियो । यो औषधिको प्रयोगबाट मुटु सम्बन्धी समस्या उत्पन्न हुने र बिरामीको मृत्युको जोखिम झन बढ्ने पछिल्लो विस्तृत अध्ययनमा देखिएको थियो ।