सोतीमा हराएका छैटौं व्यक्ति पनि भेरीमा मृत फेला

असाध्यै अमानवीयता देखिएको रुकुम पश्चिम घटनामा बेपत्ता सबै छ जनाको शव फेला परेको छ।

छैटौँ शव मंगलबार जाजरकोटको भेरी नगरपालिका-१३ स्थित भेरी नदीमा स्थानीयले भेटेका हुन् । भेरी नगरपालिका-११ का १८ वर्षीय गोविन्द शाही मात्र भेटिन बाँकी थिए । यिनलाई भेट्न १० दिन लाग्यो । 

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन ११ दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती पुगेकोमा स्थानीयको आक्रमणपछि समूहका ६ जना बेपत्ता भएका थिए ।

नवराजको शव सोही दिन राति घटनास्थलभन्दा डेढ किलोमिटर पर भेरी नदीमा भेटिएको थियो । अरुको पनि एक दुई दिनमा भेटिएको थियो । 

असाध्यै पीडादायी यो घटना सुनियोजित रुपमा भएको पीडितहरुरुले भनिरहेका छन् ।  

प्रहरीले वडाध्यक्ष, प्रेमिका भनिएकी युवती र उसका आमाबुबासहित १८ जनालाई पक्राउ गरिसकेको छ। घटनाको गृह मन्त्रालयले पनि छानबिन गरेको छ। रुकुम पश्चिम प्रहरीले पनि अनुसन्धान गरिरहेको छ। जातीय विभेदका कारण घटना भएको भन्दै काठमाडौंसहित देशका विभिन्न शहरमा दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् । यो घटनामा सरकार नचुकोस भनेर चौतर्फी दवाव परिरहेको छ ।