प्रधानमन्त्री विरुद्ध विमलेन्द्र निधिको सक्रियतामा आएको खेद प्रस्ताव कांग्रेसद्धारा पारित

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राष्ट्रिय चिन्हलाई लिएर गरेको अभद्र टिप्पणीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा खैलाबैला भएको छ ।

प्रधानमन्त्री ओलीले गरेको टिप्पणीले दुई देशबिचको सम्बन्धमा गम्भीर असर पारेको भन्दै कांग्रेसका गोपालमान सिंहसहितका नेताहरुले बैठकमा कुरा उठाएका हुन् । उनीहरुले ओलीको टिप्पणीप्रति खेद प्रस्ताव पारित गर्नु पर्ने माग गरेका थिए ।

स्रोतका अनुसार नेता गोपालमान सिंहको प्रस्तावमा ओली विरुद्ध खेद प्रस्तावमाथि छलफल गरेको हो । सो प्रस्तावमा मौखिक सहमति भए पनि लिखित रुपमा भने नराखिएको स्रोतले बतायो । उक्त प्रस्ताव उपसभापति विमलेन्द्र निधिसहितले सक्रियतामा आएको थियो ।

बैठकको अन्तिम समयमा सो प्रस्तावमाथि छलफल भएको हो । सभापति शेरबहादुर देउवाले प्रस्तावमा सहमति जनाए पनि लिखित रुपमा नराख्ने र यो कुरा बाहिर सार्वजनिक पनि नगर्न निर्देशन दिएका थिए।

एक नेताले देश सञ्चारसँग भने, ‘सभापति ज्यूले प्रस्ताव मौखिक रुपमा पारित गरौँ। तर यसलाई सार्वजनिक नगरौँ भन्नुभयो। तर संसदमा बोल्दा भने प्रधानमन्त्रीले दुई देशको सम्बन्ध बिगारको विषयलाई उठाउन भन्नुभएको छ।’ देउवाले प्रस्ताव औपचारिक रुपमा पारित गर्दा सीमाको विषय ओझेलमा पर्ने भन्दै मौखिकमै सीमित राख्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै जेठ ६ गते भारतले अक्रिमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्नी, नावी, लिपुलेक, कालापानी फिर्ता ल्याउने प्रतिबद्धता जनाउँदै भारतप्रति कडा रुपमा प्रस्तुत भएका थिए।

उनले लिम्पियाधुरासहितको भूमि नेपालको भएकाले त्यो सत्य भारतले स्वीकार गर्छ कि गर्दैन? भन्ने प्रश्न गरेका थिए। ओलीले भारतको राष्ट्रिय चिन्ह अशोक स्तम्भमा लेखिएको ‘सत्यमेव जयते’ प्रति लक्षित गर्दै भनेका थिए, ‘भारत आफ्नो राष्ट्रिय चिन्हमा लेखिएको सत्यमेव जयते स्वीकार गर्छ कि सिंहमेव जयतेलाई स्वीकार गर्छ म सोध्नेछु।’

ओलीको उक्त अभिव्यक्तिले नेपाल र भारतबिचको सम्बन्धमा संकट पैदा गरेको र दुई देशका नागरिकबिचको मैत्री पूर्ण सम्बन्धमा असर गरेको कुरा कांग्रेसको खेद प्रस्तावमा रहेको स्रोतले जानकारी दियो।

यस्तै प्रधानमन्त्री ओलीले भारतबाट आएको ‘कोरोना भाइरस’ अरु देशबाट आएको भन्दा कडा खालको रहेको भनेर दिएको टिप्पणीले पनि सम्बन्धमा संकट उत्पन्न गराएको भन्दै कांग्रेसले विरोध गरेको हो ।

बैठकले निशासन छापमा उल्लेख भएको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न संसदीय दललाई निर्देशन दिएको छ। ओलीप्रति खेद प्रस्ताव पारित गरे पनि राष्ट्रियताको पक्षमा कांग्रेस सधैं अडिग रहेको उल्लेख गर्दै नेपालको नक्सा संशोधन गर्ने विषयलाई भने समर्थन गर्ने निर्णय गरेको हो।

बैठकले यसअघि सभापति देउवा नेतृत्वको सरकारले मधेसी दलको माग अनुसार ल्याएर तत्कालीन एमालेको असहयोगका कारण असफल भएको संविधान संशोधन प्रस्ताव निजी विधेयकका रुपमा दर्ता गर्न पनि निर्देशन दिएको छ।