नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५ हजार नागरिकसम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ।
कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ।
अहिलेसम्म ५ हजार भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।
सरकारसँग अहिले उपलब्ध सामग्रीले थप ५०,००० वटा नमुनाको मात्र परीक्षण गर्न सकिने बताइएको छ।
स्वास्थ्य सामग्रीको जोहो

यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो।
तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन्।
अहिले नेपालमा फेला परेका धेरै सङ्क्रमितहरू भारतबाट फर्किएका हुन् र उनीहरू सीमावर्ती जिल्लामा छन्।
भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँ जना फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो।
यसरी सङ्क्रमण बढ्न सक्ने अनुमानसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको पनि अभाव हुने देखिएको छ।
त्यसलाई ध्यानमा राख्दै खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए।
उनले भने, “त्यो प्रक्षेपणलाई ध्यानमा राखेर सामग्रीको जोहो गर्न हामीले सुरु गरिसकेका छौँ। खासगरी परीक्षण किटको टेन्डर प्रक्रिया भइसकेको छ।”
“पुरानो प्रक्षेपणमा ठूलो सङ्ख्यामा भारतबाट मानिस आउने कुरा यो स्तरमा सोचिएको थिएन। अब हामीले नयाँ प्रक्षेपण सुरु गरिसक्यौँ।”