नेपालमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु , संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।

शनिबार बिहान दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो। दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि गरे।

उनको तीन दिनअघि नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। स्वाव परीक्षण पश्चात कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको हो।

कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएका उनले बिहान चिया बिस्कुट खाएको बताउँदै नगर प्रमुख भण्डारीले एक्कासी मृत्यु भएको बताए।

उनीसहित ७९ जना १० दिनअघि भारतको गुजरातबाट फर्किएका थिए। मृतकको स्वाब तीन दिन अगाडी नै संकलन गरिएको भएपनि सुर्खेतमा किट अभाव भएपछि संकलित स्वाबको कोरोना परिक्षण जुम्ला पठाउनु परेको हो।

यसैबीच नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमध्ये सात जनाको कोरोनाका कारण मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ सय १९ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म ५२ जिल्लामा कोरोनाको प्रकोप फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्ला केही दिनयता नेपालमा कोरोनाको संक्रमण दर तीब्र बनेको छ। शनिबार मात्रै १ सय ८९ जनामा कोरोना पुष्टि भएको छ।

सरकारले परीक्षणको दायरा नबढाउने हो भने स्थिति नियन्त्रण बाहिर जाने विज्ञहरुले चेतावनी दिँदै आएका छन्।