रौतहटको गुजरामा क्वारेन्टाइन विवाद, वडाध्यक्ष गिरी नियन्त्रणमा

भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ ।

मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टाइनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो ।

गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिए । प्रहरीले वडाध्यक्ष गिरीलाई नियन्त्रणमा लिएको छ ।

रौतहटको गुजरा नगरपालिकामा भारतबाट आएका ७५ जना तीन दिनदेखी गुजरा ५ को इस्लामपुरमा रहेको हाटबजार लाग्ने ठाउँमा बस्दै आएका थिए । उनिहरुलाई स्थानीय तहले सीमाबाट केही दिनअघि उद्धार गरेको थियो ।