समयमैं उपचार नपाउँदा रुपन्देहीमा तेश्रो कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

एक सातादेखि अस्पतालमा उपचार गराईरहेका उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकारसम्मेलन मार्फत सार्वजनिक गर्ने बताइएको छ ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले मृत्यु भएको जानकारी दिए ।  ‘उहाँ क्रिमसन अस्पतालमा आइसियुमा उपचाररत हुनुहुन्थ्यो। उहाँमा कोभिड–१९ पोजेटिभ थियो। आज विहान ७ बजेर १० मिनेटमा निधन भएको छ,’ चौधरीले  भने।

‘कोरोनाबाट निधन भएको घोषणा गर्न अस्पतालले नमिल्दो रहेछ। हामीले स्वास्थ्य मन्त्रालयमा जानकारी पठाइसकेका छौं। मन्त्रालयले नै घोषणा गर्छ,’ अस्पतालका प्रवक्ता चन्द्र बस्यालले भने। परिवारका सदस्यले समयमैं उपचार नगरी लापहरबाही गर्दा मृत्यु भएको बताउँदै आएकाछन् ।

गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए । २ गते उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।