देशभरकै क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्री ओलीको निर्देशन

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली फोटोः प्रेस सल्लाहकार सूर्थ थापाको फेसवुक वालबाट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् । ब्रिफिङपछि निर्देशन दिने क्रममा ओलीले देशभरकै क्वारेन्टाइनको स्थितिबारे चासो देखाउँदै सुधार गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सीसीएमसीको तीन क्लस्टर स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा कार्य, शान्ति सुरक्षा कार्य र सूचना तथा प्रविधि कार्यको काम, कारबाहीबारे पनि ओलीलाई छुट्टै जानकारी गराइएको थियो ।

क्वारेन्टाइनको अबस्था अत्यन्त नाजुक भएको र बिरामीहरु भागेको भन्ने गुनासोपछि ओलीले सो बारे चासो लिएको बताइन्छ ।

स्रोतका अनुसार जेठ २० मा लकडाउनको अवधि सकिएपछि सरकारले लिनुपर्ने कदम र भावी रणनीतिबारे पनि छलफल भयो । विदेशबाट ल्याउनु पर्ने नागरिकको सम्बन्धमा पनि ओलीले चासो राखे । स्रोतका अनुसार अप्सले पहिले संरचना तयार गरेर मात्र कति नेपालीलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने यकिन हुने प्रधानमन्त्री ओलीलाई जानकारी दिएको छ ।

यसको तयारी थाल्न पनि निर्देशन प्राप्त भएको स्रोतको दाबी छ । कोभिड-१९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले सेन्टरको स्थापना गरेको थियो ।