डिभिजन बन कार्यालयको लापरबाहीले हात्ती मारियो, दाह्रा बन कार्यालय लाई, पुच्छर तस्कर लाई

कोरोना संक्रमण, लकडाउन र डिभिजन बन कार्यालयको लापरबाहीको फाइदा उठाउँदै सिन्धुलीमा चोरी शिकारी ह्वात्तै बढेको डरलाग्दो बिबरण बाहिर आएको छ ।

स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार रानीवासको सुनखानीमा तस्करहरुले गोली हानी घाइते भएको एक जंगली हात्तीको उपचार गर्ने क्रममा गएराती मृत्यु भएपछि डिभिजन बन कार्यालयको लापरबाही बाहिर आएको हो । समाचार स्रोतका अनुसार चुरेक्षेत्रको सनखानीलाई आफ्नो आश्रय स्थल बनाउँदै आएको हात्तीलाई झण्डै एक महिना अगाडि शिकारीहरुले गोली हानेर घाइते बनाउँदै पुच्छर काटेर लगेको थिए । शिकारीहरुे हात्तीको दारा लैजाने प्रयत्न गरेपनि नसेपछि उनीहरु पुच्छर काटेर भागेका बताइन्छ । घाइते हात्ती आएर बसेको जानकारी स्थानीयले इलाका बन कार्यालय रानीवासमा स्थानीय गराएपनि चिकित्सकहरुलाई समयमै खबर नगर्दा उक्त हात्तीले ज्यान गुमाएको बताइन्छ ।

समाचार स्रोतका अनुसार चितवनको प्रकृति संरक्षण केन्द्रबाट हिजो आएका चिकित्सकले हात्तीलाई लट्याउने इन्जेक्सन दिएको एक घण्टापछि उक्त हात्तीको ज्यान गएको हो । चिकित्सले गरेको उपचार पद्धति हेर्न गएका स्थानीयका अनुसार उक्त हात्तीलाई दिइएको इन्जेक्सनको मात्रा बढी भएको र सोही कारणले हात्तीको ज्यान गएको हो ।
लकडाउनको मौका छोपेर डिभिजन बन कार्यालयका कर्मचारीहरु चुरे बन क्षेत्रमा सालका रुखहरुको अबैध कटानी र चोरी निकासीमा संलग्न रहेको मौका छोपी बन्यजन्तु शिकारीहरु सक्रिय भएको देखिएको छ । गत महिना मात्रै कमलामाई नगरपालिका वडा नं. २ मा बँदेललाई भन्दै हानेको गोलीका छर्रा लागेर १ जना शिकारी घाइते भएका थिए । उक्त घटनालाई डिभिजन बन कार्यालयले ढाकछोप गरेको थियो ।
इन्जेक्सनको मात्रा बढी भएपछि मरेको हात्तीको २ वटा दाह्रा भने डिभिजन बन कार्यालयले काटेर ल्याएको छ । हात्तीको पुच्छैन खै त ? भन्ने जिज्ञासामा बन कार्यालयका ति अधिकारीले आफुलाई थाहा नभएको बताए ।