विषम परिस्थितिमा शिक्षाको व्यवस्थापनका सवाल

सहज अवस्था भएको भए यतिखेर हामी विद्यालयको चौघेराभित्र हुने थियौँ । भविष्यका होनहार कर्णधार नानीबाबुहरू विद्यालयको शैक्षिक गतिविधिमा अभ्यस्त भइरहेका हुन्थे । शैक्षिक सत्र भर्खरै शुरु भइरहँदा अहिलेको यो बैशाखको अन्तिम र जेठ महिना भरि पठनपाठनको रफ्तार अलि बढी नै हुने थियो । कोरोना संक्रमणको रफ्तारले परिस्थितिलाई जटिल बनाउँदैछ । त्यसैले हामी घरभित्रै रहन वाध्य छौँ ।
शिक्षाका विभिन्न माध्यम र तरिकाहरुको पहुँचमा नभएका बालबालिकाहरु त झनै अप्ठ्यारोमा छन् । स्रोत साधन सम्पन्न विद्यार्थीहरु पनि नयाँ सिकाइका आयाम र पाटाहरु पच्छ्याउने भन्दा फजुल तरिकाबाट समय खेर फालिरहेको देखिन्छ । घरका अभिभावकहरुलाई पनि अलि बढी नै तनाव भइरहेको हो कि भन्ने आभास पाइन्छ । यो समयलाई आगामी जीवनको भोगाइसँग जोडेर लान सके र घरायसी विभिन्न कृयाकलापमा लगाउन सके व्यक्तित्व विकासका नयाँ सम्भावनाहरु पनि पहिल्याएको मान्न सकिन्थ्यो । घर भित्र र बाहिरका दैनिक गतिविधिमा सरिक भएको अवस्थामा व्यवहारिक सीप आर्जन गर्ने यो महत्वपूर्ण समय हुनसक्थ्यो । तर व्यक्तिगत, पारिवारिक एवम् सामाजिक जटिलताका कारण हामीले सोचेको जति गर्न सकेका छैनौं ।
यतिखेर हामी सबै खालका परिवारका सदस्यहरु घरमा त छौँ तर हामी बीचमा परिवार सञ्चालन र व्यवस्थापनका बारेमा कुनै छलफल र परामर्श हुन सकिरहेको छैन अनि योजना पनि बनिरहेको छैन । धेरै कुरा छलफल गरेर टुङ्ग्याउनुपर्ने थियो । बालबालिकाहरुलाई अभिप्रेरित गर्नुपर्ने थियो । उनीहरूको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्ने थियो । आधुनिक सूचना र प्रविधिका विभिन्न साधनहरुको भरपुर प्रयोग गरौं । तर यी सब कुराहरु भइरहेका छैनन् र हामीले थप चिन्ताका साथ आवश्यक चाँजोपाँजो मिलाउन सकेका छैनौं । विद्यालयको परिवेशले सिकाउन नसकेका कतिपय कुराहरु घरको व्यवहारले सिकाउँछ भन्ने कुरामा हामी जानकार पनि छौँ । त्यसैले घरको परिवेश वा वातावरणलाई ठिक तरिकाले प्रयोग गर्न सके हाम्रा बालबालिकाहरुको क्षमता अझ थप निर्माण हुनसक्छ ।
कोरोना भाइरसले आक्रान्त बनाएको जटिल विश्व परिस्थिति र बन्दाबन्दीले सिर्जना गरेको अप्ठ्यारो र असहज अवस्थाले हाम्रो भर्खरै सुरु हुँदै गरेको शैक्षिक सत्रलाई प्रभाबित बनायो । जीवन रक्षाका खातिर बन्दाबन्दीलाई स्विकार्नुको बिकल्प हामीसँग छैन । यो अवधि कति लामो समयसम्म पुग्नसक्छ भनेर अहिले नै केही भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा स्कुले बालबालिकाहरुको सिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा व्यापक चिन्तन, बहस तथा छलफल हुनु सान्दर्भिक छ र यो काम भइरहेको पनि छ ।
आधुनिक प्रविधि प्रयोग गरेर शिक्षण कृयाकलाप गर्न सकिने बारेमा पनि चर्चा धेरै नै भएको छ। उपयुक्त प्रकारको पूर्वाधार विकास, त्यसमा आधारभूत जनताको यस क्षेत्रमा न्युनतम् लगानीको सुनिश्चितता र इन्टरनेट पहुँच यसको मुख्य अवरोध भएको छ । पहिले पहिले खासगरी रेडियो सूचना र सञ्चारको माध्यम रहेकोमा हाल यो विस्थापन भएको हो कि जस्तो भइसकेको छ र अहिले अलि बढी लोकप्रिय ठानिएको टेलिभिजनको पहुँच ग्रामीण स्तरसम्म पुगेको छैन र यसमा खासगरी यो बन्दाबन्दीको अवस्थामा एसईई लक्षित सामाग्रीहरु उत्पादन भई प्रसारण भइरहेको अवस्था छ ।
सबैको हातहातमा भएको मोबाइल र त्यसका प्रयोगकर्ताहरुले त्यसैमा जोडेर रेडियो प्रयोग गर्छन् र गर्न सक्छन भन्ने अर्थ लगाउँदा यसको पहुँच अलि बढी छ । शिक्षण सिकाइ कृयाकलाप सन्चालन गर्दा अधिकाँश जनताले प्रयोग गर्न सक्ने साधनको बारेमा उचित ढंगले विश्लेषण गरेर आवश्यक निर्णय लिनु उपयुक्त हुन्छ । मिडिया कभरेज व्यापक भएको छ भन्दैमा प्रभावकारिताको सही ठम्याइ नहुन पनि सक्छ ।
इन्टरनेटको पहुँच नभएको अवस्थामा विभिन्न वेभसाइट हेर्ने र त्यसमा राखिएका सामाग्रीहरुमा विद्यार्थीको सहज पहुँच अझै छैन । निश्चित कक्षा र निश्चित विषयको मात्रै शिक्षण गरेर पनि हुँदैन । सिकाइको वातावरणलाई सहज र सुलभ बनाउनुपर्ने हुन्छ । हामीले प्रयोग गर्दै गरेका र बजारमा उपलब्ध सामग्रीहरु पहुँच भएका वर्गलाई मात्र उपलब्ध गराएर पनि हुँदैन । वर्तमानको अवस्थामा सिकाइको अवसर सबैलाई समान तरिकाले दिने र सबैको सिकाइमा बिना समस्या पहुँच सुनिश्चित गर्ने कार्य अप्ठ्यारो र चुनौतीपूर्ण छ । तथापि यस विषयमा धेरै विकल्पको बारेमा यथेष्ट खोजी र अनुसन्धान गर्नुपर्ने छ । अहिले विश्व बजारमा उपलब्ध केही विकल्पहरुको यथोचित प्रयोग भइरहेको पनि छ । यस सन्दर्भमा हामीले खासगरी गरिब, विपन्न, दुर्गम क्षेत्र, अल्पसंख्यक तथा सुविधा बिहीन समूह र ती समुदायमा रहेका बालबालिकाको सिकाइमा पहुँच पु¥याउनु अति आवश्यक छ र यो कार्य धेरै चुनौतीपूर्ण पनि छ ।
विश्व स्वास्थ्य संगठनले भनेजस्तै कोरोनाको प्रकोप लामो समयसम्म रहिरहे तत्काल विद्यालयहरु नियमित रुपबाट सञ्चालन गर्न कठिन छ । हाल विद्यालयहरु बन्दाबन्दीको अवस्थामा रहे पनि हामी शिक्षकहरुले पनि घरमै बसेर कक्षा नियमित सञ्चालन नहुँदासम्म आफ्नै क्षमता विकास, शिक्षण सिकाइ सामग्री निर्माण , विद्यार्थीका विवरणहरु सङ्कलन गर्ने, शिक्षण सिकाइका योजना बनाउने, आवधिक परीक्षालाई आधार बनाएर विषयगत सिकाई उपलब्धि मूल्याङ्कन, पेसागत विकाससँग गाँसिएका अन्य विभिन्न काम गर्न सकिने संभावना र अवसरहरू हाम्रै वरिपरि छन् । हुन त अहिले बन्दाबन्दीको यही परिवेशमा पनि शिक्षक शिक्षाकर्मीहरुको प्रयासबाट स्वयं शिक्षकलाई र कतिपय अवस्थामा विद्यार्थीलाईसमेत फाइदा पुग्ने गरि अनलाइन तालिम र कक्षाहरु पनि चलिरहेका छन् । यस्ता प्रविधिमा शिक्षक र विद्यार्थीको रुचि पनि भरपुर छ । त्यसमा पनि अब विद्यालय खुलेपछिको शिक्षण सिकाइलाई निरन्तरता दिन र व्यवस्थित बनाउन शिक्षक समुदाय र स्थानीय तहका सरकारको अझै बढी सहकार्य र समन्वयको आवश्यकता महशुस गरिएको छ । टोमप्रसाद काफ्ले: (कमलामाई फिचर सेवा)