शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यकर्मी नै आतंकित

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा तीन जना कोरोना संक्रमित देखिएपछि अस्पतालमा कार्यरत सबैको कोरोना जाँच गरिने भनिए पनि स्वास्थ्य सामग्रीको अभावमा हिजोदेखि स्वास्थ्यकर्मीहरु परीक्षणका लागि प्रतिक्षा गरिरहेका छन् । 

कोरोनाभाइरसका कारण निधन भएकी सिन्धुपाल्चोककी सुत्केरीलाई राखेको बर्थिंग सेण्टर, प्रसुती वार्ड र लेबर रुमसँग जोडिएकालाई पहिलो प्राथमिकतामा स्वाब परीक्षण गर्ने भनिए पनि उनीहरुको परीक्षण हुन सकेको छैन । प्राथमिकतामा डेढ सय रहेको जनाइएको छ । स्वास्थ्य सामग्री मन्त्रालयबाट आउने पर्खाइमा रहेको त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले झिल्कोलाई बताए । 

‘६ वर्षे बिरामी, बिरामीको कुरुवा र हालै मृत्यु भएकी महिला गरी तीन जना कोरोना पोजिटिभको अस्पतालसँग प्रत्यक्षरअप्रत्यक्ष रूपमा सम्बद्ध रहेकोले हामीले सबै कर्मचारीको कोरोना जाँच गर्न लागेका हौ’  शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए। अस्पतालसँग सम्बन्धित करिब दुई देखि तीन हजार जना कर्मचारीको कोभिड १९ परीक्षण गरिने तयारी रहेको पनि उनले बताए । 

निधन भएको महिला राखिएका वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई हिजोदेखि घर समेत जान नदिएको बताइएको छ ।