सहिदको शालिकमा माल्यार्पणगर्दै कमलामाईमा सुरू भयो एमाले उम्मेदवार मनोज जंग थापाको चुनावी अभियान

सिन्धुली। नेकपा एमाले सिन्धुली क्षेत्र नं २ का उम्मेदवार मनोज जंग थापाले सहिदहरू ऋषि राज देवकोटा आजाद, दलबहादुर राजन मगर र दुर्गा सुवेदीको शालिकमा माल्यार्पण गर्दै कमलामाई नगरपालिकामा चुनावी अभियानको थालनी गर्नु भएको छ ।

शुक्रबार बिहान नेता कार्यकर्ता सहित आजादनगर भिमान पुगेका थापाले सहिदहरूको शालिकमा माल्यार्पण गर्दै उहाँहरूले देखाएको बाटोबाट अलिकति पनि विचलित नहुने प्रण गरेका छन् । अखिलको विद्यार्थी राजनीतिबाट कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका थापा सिन्धुली एमालेमा निस्कलंक नेताका रूपमा चिनिएका छन् । नेकपा एमाले भित्र बाैद्धिक एबम् अन्तर्राष्ट्रिय मामिलाका जानकारका रूममा परिचित थापालाई यस क्षेत्रमा बलिया उम्मेदवारका रूपमा चर्चा गर्न थालिएको छ ।

कमलामाई नगरपालिका ९ मा पर्ने यो क्षेत्रका स्थानीय बासिन्दाले तीसौं वर्ष देखि आफूहरूले ऐलानी जग्गाको पुर्जा नपाएको गुनासो गरेका थिए । आफ्नै गाउँमा आशा लाग्दो उम्मेदवार आएपछि खुशी भएका स्थानीय बासिन्दाले थापालाई विजयका लागि शुभकामना दिएका थिए । सो अवसरमा उपस्थित भएका एमाले नेता कार्यकर्ताहरूले सहिद भूमिबाट चुनावी कार्यक्रम प्रारम्भ भएकाे फागुन २१ को निर्वाचनमा विजयी हुने दाबी गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता खड्ग बहादुर खत्री, मञ्जु देवकोटा, कर्ण घिसिङ, नवराज थिङ लगायत नेता कार्यकर्ता रहेका थिए । यस क्षेत्रका मतदाताले पटक पटक सुकुम्बासी हुनु परेको भन्दै यही मुद्दा उठाउँदै आएका थिए । तत्कालीन नगर प्रमुख खड्ग बहादुर खत्री कार्यकालमा सो क्षेत्रको नाप जाँच गरी लालपुर्जा दिने अन्तिम तयारी गर्दा भूमि समस्या समाधान आयोग खारेज भएपछि सो प्रक्रिया बीचमै रोकिएको थियो ।