सिन्धुली: नेकपा एमाले दुधौली नगरकमिटीको बैठकले आउँदो निर्वाचनलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि नेता शान्तिमान कार्कीको नतृत्वमा ५०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
पालिका कमिटी अध्यक्ष खेटराज अधिकारीको अध्यक्षता एवम् जिल्ला इन्चार्ज प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले बिभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार बैठकले एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिमान कार्कीको नेतृत्वमा दुधौली नगरपालिकामा चुनावलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि ठूलो संख्यामा निर्वाचन परिचालन कमिटी गठन गरेको हो । नेता कार्की चुनाबी रणनीति निर्माणमा निकै सिपालु मानिन्छन् ।
बैठकले नगरपालिकाको १४ वटै वडा कमिटी अध्यक्षको नेतृत्वमा निर्वाचन परिचालन गर्न जिम्मेवारी तोकेको छ । वडा कमिटीलाई घरदैलो गर्न र निर्वाचन परिचालन गर्नका लागि आवश्यक सम्पूर्ण तयारीहरु गर्न वडाध्यक्षको नेतृत्वमा जिम्मेवारी तोकिएको पालिका कमिटी अध्यक्ष अधिकारीले बताए ।
त्यसैगरी बैठकले विरोधीहरुको सबैखाले षडयन्त्रलाई परास्त गर्नका लागि पूर्ण खत्रीको नेतृत्वमा प्रचार प्रसार समिति गठन गरेर निर्वाचन केन्द्रीत कामलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकले सो खत्रीको नेतृत्वमा १५ सदस्यीय प्रचार प्रसार कमिटी गठन गरी जिम्मेवारी तोकेको छ ।
बैठकपछि जारी आन्तरिक सर्कुलरमा पार्टीका जनसंगठनहरु अनेरास्ववियु, अनेमसंघ, युवा संघ र युथ भोलेन्टियर्सलाई व्यवस्थित ढंगले परिचालन गर्ने निर्णय गरिएको छ । जारी सर्कुलरमा नेता कार्यकर्ताहरुको जिम्मेवारी उल्लेखगर्दै आउदो फागुन २१ गते हुने निर्वाचनमा एमालेलाई जिताउन भनिएको छ ।
बैठकमा समानुपातिक उमेदवार एवम् केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार, शान्तिमान कार्की, प्रदेश कमिटी सदस्य डम्बर कार्की, नेताहरु लक्ष्मण कार्की, घनश्याम राउत, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।










