अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् ।
उनले खोप बनाउने अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै ‘अपरेशन र्याप स्पीड’ रहेको व्याख्या गरेका छन् ।
तर खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने ट्रम्पले बताएका छन् । ट्रम्पले लगातार यहि वर्षभित्र कोभिड–१९ को खोप वा औषधि पत्ता लाग्ने बताउँदै आए पनि विज्ञले भने खोप तयार हुन समय लाग्ने बताएका छन् ।
विश्वभर अहिले एक सय भन्दा बढी सम्भावित खोपमा काम भइरहेको छ । केही खोप तथा औषधिहरु मानवीय परीक्षणको चरणमा पुगेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा शुक्रबार भएको पत्रकार सम्मेलनमा ट्रम्पले अपरेशन र्याप स्पीडबारे बताएका हुन् । यो अभियानमा कोरोना भाइरसविरुद्धको १४ वटा सम्भावित खोपको अनुसन्धान तथा त्यसका लागि अनुमति दिइने उनले बताए ।
नले अपरेशन र्याप स्पीडबारे भनेका छन्, ‘यसको अर्थ बिस्तारित र तीव्र गतिको अभियान हो । म्यानहन प्रोजेक्टपछिको यो सबैभन्दा ठूलो अभियान हो । यसमा ठूलो संख्यामा वैज्ञानिक तथा उद्योगहरु लागिपर्ने छन् ।’
सरकार तथा निजी क्षेत्रबिच खोपको खोजी तथा वितरणको व्यवस्थाका सम्बन्धमा सहकार्यको वातावरण बनाउनका लागि ट्रम्पले यो अभियानको नेतृत्व आर्मी जनलर तथा स्वास्थ्य सेवाका पूर्व कार्यकारीलाई दिएका छन् ।
औषधि उत्पादक कम्पनी ग्लासो स्मिथ केलाइनको खोप विभागका पूर्व प्रमुख मोन्सेफ स्लाउइलाई अभियानको नेतृत्व सुम्पिएका छन् ट्रम्पले । यस्तै आर्मी जनरल गुस्तावे पेर्नालाई चिफ अपरेशन अफिसरको जिम्मा दिइएको छ । उनले अमेरिकी आर्मीमा वितरणको व्यवस्था मिलाउँदै आएका छन्।
ट्रम्पपछि बोलेका स्लाउइले यो वर्षको अन्त्यसम्ममा खोपका केही करोड डोज उत्पादन हुनेमा विश्वस्त रहेको बताए ।
न्यूर्योक टाइम्ससँगको अन्तर्वार्तामा उनले खोपको समयसीमा महत्वकांक्षी रहेको बताएका थिए । तर पनि सम्भावना भने रहेकाले आफूले जिम्मेवारी सम्हालेको उनले बताएका थिए ।
विज्ञहरुले खोप पत्ता लागेपछि मात्रै अमेरिकालाई पूर्ण रुपमा लकडाउन मुक्त बनाउन सकिने बताएका छन् । तर ट्रम्पले शुक्रबार भने, ‘म मानिसहरुले लकडाउन खुल्नका लागि खोप नै चाहिन्छ भन्ने सोचुन् भन्ने चाहन्नँ, खोप बने पनि वा नबने पनि हामीले लकडाउन खुलाउने प्रक्रिया थालिसकेका छौँ ।’
उनले भनेका छन्, ‘धेरै अवस्थामा खोप हुँदैन, भाइरस वा फ्लू आउँछ र मानिसहरुले त्यससँग लड्छन् । केही अवस्थामा हामीले खोप कहिल्यै बनाउन सक्दैनौँ, र पनि भाइरस जान्छ ।’
ट्रम्पले विद्यालय पनि खुला गर्ने बताएका छन् ।