सिन्धुली: सिन्धुलीमा भएको जेनजी बिद्रोहका नाममा भएको धुसपैठ र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले नाम किटानगरी प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको नामावली ति दलले अहिलेसम्म किन गोप्य राखे ? भनेर सिन्धुली सदरमुकामका चिया पसलहरुमा चर्चाको विषय बन्न थालेको छ ।
सामाजिक सञ्जालमा आक्रमणकारीहरुलाई नछोड्ने चेतावनी दिंदै दुई दल नेपाली कांग्रेस र एमालेका जिल्ला अध्यक्ष बसेर तयार पारिएको किटानी जाहेरी दराखास्त जिल्ला प्रशासन कार्यालयमा बुझाएको झण्डै दुई साता पुग्न लाग्दा पनि सार्वजनिक गर्न नसक्नु ‘त्रासदी’ नैं मूख्य कारण मानिएको छ ।
कांग्रेस एमालेले ‘अभियुक्त’ करार गरेका दुई दर्जन बढी व्यक्तिहरु सबैमाथि प्रमाण पुग्ने अबस्था नरहेको बताइएको छ । समाचार स्रोतका अनुसार उनीहरुले पठाएका अनुसन्धानबाट प्रमाण पुगेका भनिएका एक दर्जन व्यक्तिहरु मात्रै अनुसन्धानको दायरामा तानिने र ति मध्ये ८ जना माथि तथ्य प्रमाण पुग्ने स्रोतको दाबी छ ।
आफ्नो स्वार्थमा किटानी जाहेरीमा परेका केही आगजनी र तोडफोडका दर्शक भएको र एकाध कर्मचारी व्यक्तिगत इगोको निशानीमा परेको अनुसन्धानमा संलग्नहरुको भनाई छ । एमाले पार्टी कार्यालयमा आगो झोस्नका लागि लाइटर बाल्ने व्यक्तिलाई भने जोगाइएको एमाले कार्यकर्ताहरुलेनैं बताउन थालेका छन् । उनलाई जोगाउने र केही असंलग्नलाई फसाउन नाम किटान गर्ने एमालेको छानवीन समिति संयोजक र नेतृत्वमाथि प्रश्न उठाउन थालिएको छ । यता केही दिनदेखी सामाजिक सञ्जालमा जेनजी बिद्रोहलाई अपराधिकरण करार गर्दे लेख्ने नेता कार्यकर्ताहरुले लेखन एकाएक बन्द भएको छ । त्यसरी लेख्ने नेता कार्यकर्ताहरुमाथि आफन्तजन र साथीभाईले धेरै उग्र नलेख्न र संयमता पनाउन सुझाएका कारण उनीहरुको छुद्र लेखन बन्द भएको बताइएको छ । बुधवारको सन्देश जनप्रियले यो समाचार प्रमुखताका साथ प्रकाशन गरेको छ ।










