सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १०-१३ लाई जोड्ने चँदाहा खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेका बेला त्यहाँ रहेको रड र अन्य निर्माण सामाग्री चोरिहुन थालेपछि सरोकारवाला निकायले स्थलगत अनुगमन गरेको छ ।
शनिवार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा गएको अनुगमन टोलीले स्थानीय वासिन्दाले भोग्दै आएको समस्या सुन्दै अलपत्र पुल निर्माणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बचन दिएका छन् ।
अनुगमनका क्रममा स्थानीय वासिन्दाले पुल निर्माणकार्य रोकिएपछि अलपत्र छोडिएको निर्माण सामाग्रीहरु स्थानीय केही व्यक्तिले अनाधिकृत रुपमा बेच्न थालेको समेत जानकारी गराएका थिए । उनीहरुले पाँच वर्ष अगाडि पूल निर्माणका क्रममा काम गरेका स्थानीयले अहिलेसम्म ज्याला नपाएको र स्थानीय ठेकेदारले काम गरेवापतको ज्यालासमेत नदिएको उनीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गरेका थिए ।
संघीय सरकार पुल महाशाखाको १२ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण थालिएको चँदाहा नदीमा निर्माणाधिन पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेपछि यस क्षेत्रका नागरिकहरुले सास्ती व्यहोर्नु परेको स्थानीयले प्रदेश खबरलाई बताएका थिए । ठेकेदार कम्पनीले अहिलेसम्म ५ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।
कमलामाई नगरपालिका वडा नं. १० र वडा नं. १३ जोड्ने यो पुल प्यासेफिक निर्माण जेभिले अलपत्र छोड्दा तीनपाटन र दुधौली नगरपालिकाका नागरिकलेसमेत सास्ती व्यहोर्नु परेको छर्छरेका टिका बैजुले बताए ।
निर्माणको ठेक्का पाएकोमा प्यासेफिक जेभिले संझौता बमोजिमको समय सकिएपनि पुल निर्माण कार्य अलपत्र छोडेको कमलामाई नगरपालिका वडा नंं. १३ का वडाध्यक्ष केशरवहादुर कार्कीले बताए । उनका अनुसार पटक पटक पुल निर्माणको ठेक्का पाएको कम्पनिका स्थानीय र ठेकेदारलाई ताकेता गर्दा पनि कुनै चासो नदेखाएपछि स्थानीय वासिन्दाहरु आक्रोसित बन्न थालेका छन् ।
स्थानीय बासिन्दाले तोकिएकै समयमा पुल निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारलाई कारबाही गर्न र त्यस्ता फर्मलाइ कालो सूचीमा राखेर अयोग्य घोषित गर्न पनि प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् ।
स्थानीय वासिन्दाको समस्या बुझ्न गएका प्रमुख जिल्ला अधिकारी भुसालले पुल निर्माणको काम छिट्टै अघि बढाउन माथिल्लो निकायमा आवश्यक पहल गर्ने आश्वासन दिनुभएको वडाध्यक्ष कार्कीको भनाई थियो । आज प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी प्रमुख लालध्वज सुवेदीसमेत अनुगमनका लागि गएका थिए ।

-पवन राउतबाट











