काठमाडौ: जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्। जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका हुन्।
उनीहरूले ओली र लेखकले जेनजीहरूको हत्या गरेको भन्दै तत्काल पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका हुन्। यसअघि यी दुवै नेतालाई विदेश जानका साथै उपत्यका छाड्नसमेत रोक लगाइएको थियो। जेनजी अभियानकै अभियन्ता रक्षा बलमे भने अर्कै पोस्टर सेयर गरेकी छन्, जसमा ओलीको मात्रै फोटो छ।
उनले लेखेकी छन्, ‘अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ । जेनजी कोआन्दोलनमा निहत्था कलिला विद्यार्थीमाथि गोली दाग्न आदेश दिने एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’










