काठमाडौँको बस्ती डुबानमा, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौँ: अविरल वर्षाका कारण काठमाडौँका नदी किनारका बस्तीहरू डुबानमा परेका छन् । बागमती र विष्णुमती खोलामा पानीको बहाव उच्च भएपछि किनारका बस्तीहरू प्रभावित भएका हुन्। विशेषगरी बागमती खोला किनारको बल्खु सुकुम्बासी बस्ती र विष्णुमती र बागमतीको दोभान नजिकका केही क्षेत्र डुबानमा परेको जनाइएको छ ।

डुबानबाट जनजीवन प्रभावित हुन थालेपछि ती क्षेत्रहरू खाली गराउनका लागि नेपाली सेना परिचालन गरिएको छ । सेना र प्रहरीको टोलीले डुबानमा परेका बस्तीका घरहरूमा जाँच गर्दै मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन् । साथै, आवश्यक परेकाहरूलाई सामान सार्न समेत सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । भारी वर्षा जारी रहेकाले नदी छेउछाउका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।