सिन्धुली: प्रमुखप्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिन्धुलीको जिल्ला नेतृत्वका बिरुद्ध हस्ताक्षर अभियान प्रारंभ भएको छ । पार्टी नेतृत्वबाटै सिन्धुलीमा माओवादीलाई कमजोर बनाउने गतिविधी भएको भन्दै माओवादीको इतरपक्षले पालिका कमिटीका पदाधिकारीहरुको हस्ताक्षर संकलनगर्दै पार्टी हेर्डक्वार्टरमा बुझाउने तयारी थालेको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको छ ।
गएको भदौ ८ गते सिन्धुलीको एक होटलमा माओवादीका एक केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्य एवम् गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारको उपस्थितिमा भएको बैठकले आफूहरु जिल्लामा कमजोर भएको र पार्टीका गतिविधीमा आफूहरुलाई निषेध गरेको निश्कर्ष निकाल्दै सबै विषयलाई समेटेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भए बमोजिम सिन्धुलीका ९ वटै पालिका कमिटीमा सो हस्ताक्षर अभियान थालिएको हो ।
प्राप्त बिबरण अनुसार मंगलवार साँझसम्म बिवादास्पद पालिका कमिटीहरु कमलामाई, दुधौली र गोलन्जोर पालिका कमिटी वाहेक अन्य कुनै पनि पालिका कमिटीका पदाधिकारीले हस्ताक्षर नगरेको थाहा लागेको छ । उक्त हस्ताक्षर माओवादीको जिल्ला नेतृत्व बिरुद्ध लक्षित भएपछि सबै पालिका कमिटीका पदाधिकारीहरु हस्ताक्षर गर्न राजि नभएको थाहा लागेको छ ।
माओवादी केन्द्र सिन्धुलीमा पार्टीको जिल्ला नेतृत्व र केन्द्रीय सदस्य राजन दाहाल समूहका बीचमा टकराब बढ्दै गएको छ । जिल्ला नेतृत्वलाई असफल बनाएर आफ्नो पक्षमा नेतृत्व हत्याउन दाहाल पक्ष लागिरहेको छ भने संस्थापन पक्ष दाहालले सिन्धुलीमा माओवादी पार्टी कमजोर बनाएकाले उनको भूमिकालाई कमजोर बनाउन क्रियाशिल छ ।
जिल्ला पार्टी नेतृत्वको पक्षमा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेल र पार्टी सचिव गंगानारायण श्रेष्ठको बलियो साथ रहेकाले पनि इतरपक्षले चलाएको हस्ताक्षर अभियानले कुनै अर्थ नराख्ने बताउँदै आएको छ ।
माओवादी केन्द्रका सचिव बिनोद बिकले पार्टीका केही कमरेडहरुले पालिका कमिटीमा हस्ताक्षर अभियान चलाउन खोज्नु भएको थाहा पाएको तर त्यो विषय पार्टी कमिटीमा छलफल वा कुराकानी नभएको बताए । उनले त्यस्ता हस्ताक्षर अभियानले माओवादी कार्यकर्ता तहमा निराशा मात्रै बढाउने उल्लेख गरे ।
माओवादीको इतरपक्षले बनाएको कमलामाई र दुधौली नगरकमिटीलाई माओवादी केन्द्र बागमती प्रदेश कमिटीले अबैध मान्दै दुबै पक्षको सहमतिमा नगरअधिवेशन गर्न तोकिएको समयसिमा भित्र अधिवेशन नभएपछि बढेको सिन्धुली माओवादी केन्द्रको आन्तरिक बिवाद तत्कालै साम्य नहुने देखिएको छ । माओवादी केन्द्र बागमतीका अनुसार दुधौली र कमलामाई नगरअधिवेशन केही दिनपछि बागमती प्रदेश कमिटीको प्रत्यक्ष रेखदेख र आयोजनामा गर्ने तयारी गरिएको छ । यद्यपी कहिले गर्ने भन्ने मिति भने टुंगो लागेको छैन । -यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले महत्वका साथ प्रकाशन गरेको छ ।










