सिन्धुली: गरिब तथा मजदुरहरुले आफ्नो पेट कटाएर जम्मा गरेको रकम हजम गर्नेहरुले सडकमा तमासा देखाइरहेका छन्, भिड जम्मा गरेर न्यायालयलाई प्रभावित गर्न खोज्नेहरुको इच्छा कहिल्यै पुरा नहुने नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले बताउनु भएको छ ।
मंगलवार सन्देश जनप्रियसँगको लामो कुराकानीका क्रममा नेता कोइरालाले सो कुरा बताउनु भएको हो । गरिव तथा असहाय किसान मजदुरले आफ्नो छाक कटाएर जम्मा गरेको रकम हिनामिना गर्ने व्यक्तिलाई जोगाउने नाममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथानाम गाली गर्ने, न्यायालयलाई भिड जम्मा गरेर प्रभाबित पार्ने जस्ता गलत कामहरु अहिले सडकमा देखिएको बताउँदै त्यस्ता गलत कामलाई सरकारले नियन्त्रणमा लिनुपर्ने बताउनु भएको छ ।
हजारौं मानिसहरुले थोपा थोपा गरेर जम्मा गरेको रकम रास्वपा अध्यक्ष रवि लामिछानेमाथि हिनामिना गरेको अभियोग लागेपछि त्यसलाई स्वतन्त्र रुपमा छानबिन गर्न दिनुपर्नेमा भिड जम्मा गरेर न्यायालयमाथि दबाब सिर्जना गर्न खोज्ने रास्वपाको शैली गैर प्रजातान्त्रिक एवम् स्वतन्त्र न्यायपालिकाको भावना बिपरित रहेको कोइरालाले बताउनु भयो ।
उहाँले सहकारी घोटाला प्रकरणमा जोडिएका कोहीलाई पनि कानूनी कारबाहीको दायरामा ल्याएर अपचलन गरिएको गरिव किसान मजदुरले जम्मा गरेको रकम फिर्ता गराउने कार्यमा अझ अग्रसरता देखाउन आग्रह गर्नुभयो ।
नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्र भएकाले विगतमा नेकपा एमालेमा रहेर गल्तीगर्दै पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई मात्रै होइन, छरिएर रहेका सबै कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई एमालेमा समाहित गराउन भूमिका निर्वाह गर्ने बेला भएको उहाँको जोड थियो ।
अहिले पार्टीमा केही अराजकता र अस्थिरता पैदा गराउने, विधीसम्मत तरिकाले नचल्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले पार्टी विधान र अन्तरपार्टी निर्देशन अनुसार चल्न जिल्लाका नेताहरुलाई आग्रह गर्नुभयो ।
हाम्रा अगाडि पार्टी र संगठनलाई बलियो बनाउने र आउँदो निर्वाचनमा पहिलो दल बनाउने महान जिम्मेवारी आएका बेला आन्तरिक एकता सुदृढ गर्न र छरिएका मनहरुलाई बलियो बनाउन जरुरी भएको नेता कोइरालाको भनाई छ । एमालेमा अब अन्य दलहरुबाट नेता कार्यकर्ताहरु प्रवेश गराउने र त्यसरी आएका साथीहरुलाई उचित जिम्मेवारी दिएर पार्टी निर्माणमा लगाउने बेला भइसकेको बताउँदै जिल्ला नेताहरुलाई त्यसैको दिशाबाट अगाडि बढ्न उहाँको सुझाव थियो ।
पार्टी र संगठन बलियो भए मात्रै लाभका पदहरु प्राप्त हुने बताउँदै केन्द्रीय सदस्य कोइरालाले पहिला पार्टी निर्माण गर्ने तर्फ लाग्नु अहिलेको अपरिहार्य भएको उल्लेख गर्नुभयो । सिन्धुली जिल्ला पार्टीमा देखिएको समस्याहरु वारे टिप्पणीगर्दै उहाँले नेतृत्वको आफ्नै विधिसम्मत अडान हुनुपर्ने र त्यो अन्तरपार्टी निर्देशन र विधान भन्दा वाहिरको हुनु नहुने उल्लेख गर्नुभयो ।
मूलुकको अहिलेको राजनीति अराजकता तर्फ अगाडि बढिरहेकाले त्यसलाई सरकारले समयमैं नियन्त्रण लिन जरुरी भएको उल्लेखगर्दै उहाँले अराजकता र अस्थिरता मच्चाएर मूलुकमा हिंसा मच्चाउन खोज्नेहरुको कहिल्यै पनि सपना पुरा नहुने दाबी गर्नुभयो ।
केही समयदेखी सामाजिक सञ्जालमा मूलुकको राजनैतिक परिवर्तनमा लागेका नेताहरुका बिरुद्ध अफवाह फैलाउने, गलत कुराहरु लेख्ने र भिडियोहरु एडिट गरेर राख्ने कामहरु बढेको स्मरणगर्दै उहाँले सिंगो व्यवस्थाकै विरुद्ध लाग्नेहरुलाई पहिचान गरेर दण्डित गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।
शुभ दिपावली तथा छठ पर्वको अबसरमा शुभकामना व्यक्तगर्दै नेता कोइरालाले सत्य र न्यायका पक्षमा उभिन सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।