अर्जुन कुमार श्रेष्ठ सिन्धुली जिल्लामा कुनै अपरिचित नाम होइन । उद्योगी व्यवसायीका समस्याहरुमा सँधै सतिशालझैं उभिने श्रेष्ठको विगतको व्यवसायिक यात्रा निकै कष्टकर थिए । रामेछापबाट गोजीमा ५ हजार रुपैयाँ बोकेर सिन्धुली सदरमुकाम माढी बजार झरेर सडक पेटीमा चप्पल बेच्दै थालिएको व्यवसायिक यात्राले अहिले निकै ठूलो फड्को मारेको छ । विगतमा जुटको बोराकै ओढ्ने र ओच्छ्याउने अबस्थालाई पारगर्दै अहिले उहाँ सिन्धुलीको समग्र उद्योगी व्यवसायीको हित र उपभोक्ता अधिकारको पक्षमा उभिने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । तर कहिलेकाँही स्थानीय प्रशासनले गर्ने बजार अनुगमन र त्यसपछि गरिने कारबाहीको सन्दर्भमा उहाँ र बिवादमा पनि देखिनुहुन्छ । पछिल्लो समय उद्योगी र व्यवसायीहरु संकटपूर्ण अबस्थामा रहेको बताउनु हुने अध्यक्ष श्रेष्ठसँग सन्देश जनप्रियले गरेको लामो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । (सम्पादक)
सिन्धुलीको व्यापार व्यवसायको अबस्था कस्तो छ ?
अघिल्लो वर्षको तुलनामा यस वर्षको चाडवाडमा व्यापार व्यवसायको अबस्था नराम्रो थिएन । मैंले कपडा र खाद्यान्न व्यवसायी साथीहरुलाई व्यापार कस्तो छ भनेर सोधेको थिए, उहाँहरुले त्यस्तो नराम्रो छैन भन्नुभयो । दशैं सकियो, तिहार र छठ पर्व आउँदैछ । गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि आएको वाढी पहिरोको विपत्तिले हामी सबै व्यवसायीहरु चिन्तित थिए । गोदाममा सामानहरु थुपारेर बसेका साथीहरुको कुरा सुन्दा निकै पिडादायी हुन्छ कि भन्ने त्रास थियो तर जनजीवन सामान्य बनाउने काममा सबैको सकारात्मक पहल भएपछि त्यसले सिन्धुलीका व्यवसायीहरुमा उत्साह थपियो । सोचेभन्दा धेरै व्यापार भएको छ । अहिले बैंकमा पैसा थुप्रिएको छ । उहाँहरु (बैंकका कर्मचारीहरु) पैसा लिन आउनुस् भनिरहनु भएको छ, तर व्यवसायीयहरु डरले ऋण रकम लिन डराइरहनु भएको छ । ऋण लिएर लगानी गर्ने क्षेत्र छैन, अर्थतन्त्र कमजोर बनिरहेको छ, सबैतिर अबिश्वास र अराजकता पैदा भइरहेको छ । यस्तो अबस्थामा लगानी मैत्री वातावरण नबनेसम्म कुनै पनि व्यवसायीले बैंकबाट रकम लिने अबस्था आउँदैन ।
केन्द्रीय उद्योगमन्त्रीले वारम्वार राष्ट्रिय पुँजीपति वर्गको संरक्षण गर्ने र उद्योग मैत्री वातावरण निर्माण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको थियो, व्यवसायिहरुमा किन आशा जाग्न सकेन ? स्थानीय सरकारबाट सहयोग नभएकै हो ?
अत्यन्त महत्वपूर्ण कुराको उठान गर्नुभयो । अघिल्लो सरकारले लगानी सम्मेलन पनि गरेको थियो तर प्रतिवद्धता गरे अनुसारको बैदेशिक लगानी भित्रिएन । सम्मेलनपछि त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि मातहत निकायबाट फलोअप नभएको वा सरकारले प्रतिवद्धता गरे अनुसारको काम नभएको हो त्यो कुरा मैंले बुझ्न सकेको छैन । अहिले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेपछि निराशाजनक अबस्थामा पुगेको नेपालको अर्थतन्त्रमा सुधार भएको संकेतहरु देखिएका छन् । पहिला पैसा छैन भन्ने बैंकहरु अहिले लिन आउनुस् भनेर बोलाइरहेका छन् । यो सकारात्मक पक्ष हो । केन्द्र सरकारले वारम्वार लगानीमैत्री वातावरण बनाउने भनेर भनिरहेको छ । तर हाम्रा स्थानीय सरकारबाट त्यस किसिमका कामहरु अगाडि बढेका छैनन् । केही स्थानीय सरकारको त व्यवसायीलाई हेर्ने दृष्टिकोणनैं गलत छ । उहाँहरु व्यवसायीसँग हातेमालो गर्न चाहानुहुन्न । हामी उहाँहरुको साझेदार बन्न चाहान्थ्यौं तर त्यसो भइरहेको छैन । तर केही यस्ता स्थानीय तह वा सरकार प्रमुख हुनुहुन्छ उहाँहरु हामीहरुसँग सँधै सहकार्य वा हातेमालो गरिरहनु भएको छ । हामी उहाँहरुसँगको सहकार्यले उत्साहित पनि भएका छौं ।
तपाई आफैं उपभोक्ता, व्यवसायीको नेता पनि हुनुहुन्छ । अब यो बताइदिनुुस् कि सिन्धुलीको समग्र अर्थतन्त्रलाई माथि उकास्न के गर्नु पर्छ ?
२०४६ सालको जनआन्दोलन होस् वा २०६२÷०६३ को जनआन्दोलन किन नहोस् त्यसमा व्यवसायीहरुको पनि ठूलो योगदान रहेको छ । माओवादीकै जनयुद्धमा पनि व्यापारीहरुले ठूलो मात्रामा चन्दा दिएर सहयोग गरेका छन् । आन्दोलन सफल भयो । आन्दोलनरत दल र नेताहरु सरकारमा पुगे तर आन्दोलन र संघर्षबाट खस्केको अर्थतन्त्रलाई उकास्ने योजना ल्याउनु भएन । अहिले पनि उहाँहरु सत्ताकै छिनाझप्टीमा हुनुहुन्छ । जबसम्म मूलुकमा राजनैतिक स्थायित्व कायम रहँदैन तबसम्म अर्थतन्त्रले गति लिंदैन । मूलुकमा राजनैतिक युद्ध सकिएको छ, अब देश विकासका लागि आर्थिक युद्ध जरुरी छ । अहिले प्रत्येकजसो घरबाट कम्तिमा एकजना विदेश गएका छन् । सिन्धुलीमा बिगतका खेती योग्य सैयौं विगाह जग्गाहरु बाँझो छन् । सिन्धुलीमा खाद्यान्न र तरकारी मात्रै उत्पादन गर्ने हो भने सिन्धुलीमा बाहिरबाट केही पनि ल्याउनैं पर्दैन । अहिले पनि महिनामा पचासौं ट्रक तरकारी सिन्धुलीमा आउने गरेको छ । यहाँ त काम गर्ने भन्दा कुरागर्नेहरु धेरै भेटिए । गरे त हुने रहेछ भन्ने कुरा दुध, मासु, अदुवा खेती गर्ने किसानहरुले पुष्टिनैं गरिदिएका छन् नि ? मासु, दुध र अदुवा सिन्धुली जिल्लालाई धेरै भएर वाहिर गइरहेको छ ।
साझेदारीमा व्यवसायिक काम गर्ने संस्कारको विकासनैं भएन । केही वर्ष अगाडि सरकारले त्यो प्रयासको थालनी गरेको थियो तर त्यो कार्यान्वनमा आएन र आएका पनि प्रभावकारी हुन सकेनन् । त्यसको सफलता र असफलताको कहीकतैबाट छलफल भएको पनि देखिएन । तर नेपालमा साझेदारीका माध्यमबाट मात्रै उद्योग व्यवसायहरु सफल हुन्छन् र गिर्दो अर्थतन्त्रलाई माथि उकास्न सकिन्छ भन्ने मेरो अनूभव छ । नेपाल र थाइल्याण्डको एयरपोर्ट एकै साल बनेको हो । त्यसबेला नेपालमा पनि राजा थिए र त्यहाँ त अझैं छन् । थाइल्याण्डको आर्थिक विकासले फड्को मा¥यो तर हाम्रो अबस्था झन झन दयनिय बन्न थालेको छ । विगतका कमी कमजोरीको गहन अध्ययन गरेर नयाँ शैलीको उच्चतम प्रविधी प्रयोगमा ल्याउँदै उद्योग व्यवसाय स्थापना गर्ने हो भने अझैं पनि आशा गर्न सकिन्छ ।
उच्च शिक्षाका नाममा हाम्रो देशबाट ठूलो धनराशी विदेशिएको छ । हाम्रो अर्थतन्त्र कमजोर हुनुको पछाडिको मूख्य कारण यही त होइन ?
तपाईले भनेजस्तो सत प्रतिशत त होइन, तर त्यो विषयले नेपालको आर्थिक संकटमा प्रभाव पारेको छ । अहिले प्रत्येक जसो घरबाट कम्तिमा एक जना उच्च शिक्षामा नाममा अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान जस्ता मूलुकहरुमा गएका छन् । अध्ययन गर्न जाने नाममा आफ्नो घर खेत बन्दकी राखेर लाखौं रुपैयाँ विदेश पठाउने कामले कमजोर बन्दै गएको नेपाली अर्थतन्त्रलाई संकट तर्फ धकेल्न मद्धत गरेको हो । तर पढ्न गएका विद्यार्थीले केही रकम आफ्नो घर परिवारमा नपठाएका पनि होइनन्, पठाएका छन् ।
कोही बैदेशिक रोजगारीको शिलशिलामा त कोही अध्ययनका नाममा गएकाहरुबाट प्राप्त भएको रेमिट्यान्सले मूलुको कमजोर अर्थतन्त्रलाई माथि उकास्न सक्तैन । विदेशबाट छोराछोरी र आफन्तले पठाएको रकम पनि नेपालमा बसेकाहरुले चलायमान गराउन सकेका छैनन् अर्थात उनीहरु लगानी डुब्छ भनेर त्रसितछन् । मूख्य कुरा त क्रमश कमजोर बन्दै गएको नेपालको उत्पादन प्रणालीलाई बलियो बनाउन जोड दिनुपर्छ । सरकारका तर्फबाट कृषि उत्पादन बढाउन सबै किसिमका उपायहरु अबलम्मन नगर्दासम्म संकटबाट वाहिर निस्कन सकिन्न ।
प्रसङ्ग बदलौं, जब चाडबाड नजिकिन्छ, अनि बजार अनुगमन थालिन्छ । त्यसपछि व्यवसायी र स्थानीय प्रशासनका बीचमा प्रत्येक वर्ष टकराब हुने गर्छ, किन त्यस्तो भइरहन्छ ?
वास्तमा जुन मानिसले काम गर्छ, यसको कमजोरी त भइनैं हाल्छ । उद्योग वाणिंज्य संघ व्यवसायीहरुको छाता संगठन हो । त्यसैले हामी बारम्बार भन्दै आएका छौं, व्यवसाय गर्दा डेट एक्सपायर सामान बेच्नु भएन, कालोबजारी गर्नु भएन, राज्यले लगाएको कर तिरेर मात्रै सामान ल्याउनु पर्छ र यदी त्यसो भएन भने कारबाही गर्नुपर्छ । तर यहाँ त व्यवसायीलाई हतोत्साही बनाउने र आतंकित बनाउने काम स्थानीय प्रशासनबाट भए । तत्कालिन प्रमुख जिल्ला अधिकारी भरत खनाल, घरेलु कार्यालय प्रमुख धु्रव ढकालले त्यस्तो काम गरे । मैंले भन्नै पर्छ, कमला सप्लायर्स र त्यसका सञ्चालक जय दासले सामानको मिति बढाएर रिप्याकेजिङ गरेको अबस्थामा फेला पारिएकै हो । उक्त चिउराको डेट सकिएको थिएन, ९० दिन बाँकी थियो, त्यो खाल्डो खनेर नष्ट गर्नुपर्ने अबस्थाको थिएन । गाई बस्तु र माछालाई दिन मिल्थ्यो तर त्यसलाई म्याद सकिएको भन्दै एउटा दैनिक पत्रिकामा प्रचारवाजी गरेर नष्ट गर्ने र साउलाई २ लाख रुपैयाँ जरिवाना गर्ने काम भयो । जयले डेट बढाउने काम गरेको हो, म्याद नाधेको चिउरा होइन, मेरै आँखाले देखेको हो । मैंले प्रजिअ खनाल र ढकाललाई उसले गल्ती गरेकै हो, जरिवाना गर्नुस् तर इन्टरनेशनल व्यापारी बिनोद चौधरीलाई जस्तो २ लाख जरिवाना गर्न पाउनु हुन्न भनें तर उहाँहरुले मेरो कुरा सुन्नु भएन । राजस्व असुल्ने नाममा पत्रकार र पत्रिकालाई दिएर व्यापारीको ढाड सेक्न पाइंदैन नि ? मैंले ति पत्रकारलाई कार्यालयमा बोलाएर सो कुराको प्रतिवाद गरेपछि भोलीपल्ट सो दैनिक पत्रिकाले समाचार सच्याएको थियो ।
स्थानीय प्रशासन र व्यवसायी बीचमा बेला बखत देखिने तनाब कम गर्ने उपायहरु छैनन् त ?
एकै ठाउँमा बसेपछि कहिले काँही टकराब हुने वा कुरा नमिल्ने कुरा हुन्छन् नैं । यो श्रीमान् श्रीमतीको जस्तै सम्बन्ध पनि हो । श्रीमान् श्रीमती बीच लात्तिले लाग्यो भनेर झगडा गर्न मिल्दैन । एकै ठाउँमा बसेपछि कमी कमजोरी हुन्छन् । कमजोरी गर्नेलाई लुकाउने वा छिपाउने होइन, कारबाही गर्नुपर्छ भन्छौं । अहिलेको संकटपूर्ण अबस्थामा व्यापार व्यवसाय नचलेको अबस्थामा कारबाही गर्ने वा सचेत गराउने काम गर्नुपर्छ । प्रशासनले कहिल्यै पनि सचेतिकरण गराउने काम गराएन । व्यापारीहरुलाई एकै ठाउँमा भेला गराएर म्याद नाघेका सामाग्री नबेचौं, कालोबजारी नगरौं, बिल बिना सामान नल्याऔं भने राम्रो हुन्थ्यो नि ? हामीले त भनेकै छौं, हाम्रो भन्दा अनुगमन गर्ने निकायले त्यस्तो काम गरे प्रभावकारी हुने थियो । सबै दोष व्यवसायीहरुलाई मात्रै देखाएर उम्किन कहाँ मिल्छ र ?
तपाईको तीन वर्षे कार्यकाल सकिंदैछ, यो अबधिमा व्यवसायिहरुको हितका निम्ती सम्झन लायक के के कामहरु गर्नुभयो ?
मैंले अध्यक्षमा निर्वाचित भएर आएपछि व्यवसायिकको हितका लागि देखिने खालका कामहरु भएका छन् । तर मैंले यस बीचमा यो वा त्यो काम गरें भनेर कहिल्यै पनि भनिंनँ । सामाजिक सञ्जालमा फोटो हाल्ने र लेख्ने पनि काम गरिंनँ । किनकी काम गर्नेहरुले कहिल्यै पनि प्रचारवाजी गर्दैनन् । तपाईको प्रश्नले मलाई गंभीर बनायो । मैंले गरेका कामहरु व्यवसायी र सिन्धुलीवासीले थाहा पाउनु भएको छ । म उद्योग वाणिंज्य संघमा प्रवेश गर्दा सचिवालय थिएन । मैंले व्यवसायीको कार्यालय भएकाले सबैभन्दा पहिला कार्यालयजस्तो बनाएँ । सबै पदाधिकारीको कार्यकक्ष छ र १६० जना अट्ने हल बनाएको छु । अध्यक्षको कार्यकक्ष बनाएको छु । २५ सालमा स्थापना भएको सिन्धुली उद्योग वाणिज्यसंघको स्थापना दिवश सबैले बिर्सिएका थियौ, त्यसलाई मैंले मनाउने कार्यको थालनी गरें । त्यसक्रममा निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरियो । ४७० जना महिलाको पाठेघरको शल्यक्रिया भयो । भिमान बजारबाट साँझ ७ बजेबाट सिन्धुली बजार आउन पाइंदैनथ्यो, अहिले सबैजना सहजै आउने वातावरण मिलाइयो । सिन्धुली महोत्सव धेरै पटक गरिएको थियो, देखिने काम कम कमनै भएका थिए । महोत्सवबाट उठेको रकमले सिन्धुली जिल्लामा एउटा दमकल किन्ने अभियान चलाएका थियौं, सफल पनि भयौं । सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिका बाहेक सबैले सहयोग गर्नुभयो । अहिले त्यो सञ्चालनमा आएको छ । सिन्धुली उद्योग वाणिंज्य संघमा बिपद समिति थिएन, हामीले त्यो समिति बनाएर खाता सञ्चालनमा ल्यायौं र त्यसबाट जिल्लामा पिडित भएका १ सय भन्दा बढी नागरिकहरुलाई खाद्यान्न सामाग्रीहरु राहत स्वरुप उपलव्ध गराउँदै आएका छौं ।
सिन्धुलीमा उद्योग वाणिंज्य संघको सदस्यहरुलाई केही पनि थिएन, उहाँहरुले सदस्यता नविकरण गरेर बसिरहनु भएको थियो । म अध्यक्ष बनेर आएपछि २ लाख रुपैयाँको इन्स्योरेन्स गरेका छौं । त्यति मात्रै होइन मृत्यु पछि परिवारका सदस्यलाई किरिया खर्च वापत १५ हजार रुपैयाँ उपलव्ध गराउने शुरुवात गरेका छौं । व्यवसायिको हितका लागि नेपाल सरकार बाट बजेट प्राप्त गरेर हामीले थुप्रै कामहरु गरेका छौं ।
कामको दौरानमा त्यस्ता केही नमिठा अनुभवहरु पनि होलान् नि ?
उद्योग वाणिंज्य संघ नितान्त घरभाडा र व्यवसायीहरुको नविकरणले चलेको संस्था हो । यहाँ चार जना कर्मचारी छन्, उनीहरुलाई तलव खुवाउन हम्मेहम्मे पर्छ । यो उद्योगपतिको संस्था हो, यो धनि छ भन्ने सोचेर चारैतिरबाट माग्न आउनेहरु छन् । तर वाहिर देखिए जस्तो अबस्थामा हामी छैनौं । म अध्यक्ष बनेर आएपछि देखिनेगरी काम गरेको छु, तर काम गरेन भनेर ‘ब्याक वाइटिङ’ गरेर हिंडेको देख्दा दुःख लाग्छ । २६ वर्षको उद्योग वाणिंज्य संघको यो बसाई र नारायण कुमार श्रेष्ठको कार्यकालदेखीको सदस्य पनि भएकाले यहाँ भित्रको सबै कुरालाई नजिकबाट नियाल्ने अबसर पाएको छु । त्यस अगाडि त झोलामैं कार्यालय राखेर चलाएकै हो नि । यो साझा संस्था भएकाले सहमतिमा अध्यक्ष बनेर आएदेखी सामूहिक रुपमा टिमवर्क र स्पिड छ, आन्तरिक एकता बलियो छ । भवनको भित्री भाग राम्रो बनायौं, बाहिर पनि राम्रो र चिटिक्क बनाउँछु भन्ने लागेको थियो, त्यो काम नगरी बाहिरिने अबस्था आयो, त्यो कुरामा दुःख लागेको छ । बजारमा अध्यक्षले कामै गरेन भन्नेहरुको पनि मैंले प्रतिवाद गरेको छैन, गर्दिनँ पनि । किनकी तथ्य सबैको सामू जगजाहेर छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
बिजया दशमी सकियो । दिपावली र छठ पर्व आइरहेको छ । यस अवसरमा सम्पूर्ण व्यवसायी, मान्यजन र साथी भाईहरुमा शुभकामना व्यक्त गर्दछु । व्यवसायी साथीहरुको नेता हुनुका नाताले म फेरी पनि आग्रह गर्दछु कि तपाईहरुले नेपाल सरकारले तोकेको मापदण्ड अनुसारनैं व्यापार व्यवसाय सञ्चालन गरिदिनुस्, डेट एक्सपाएर भएका सामानहरु नबेचिदिनुस् । वजारमा महंगी नबढाइदिनुस्, सर्वसाधारण सबैले चावपर्व मनाउने र आहा सिन्धुलीको व्यापार व्यवसाय भन्ने अबस्था सिर्जना गरिदिनुहोस् ।