सिन्धुलीको दुम्जा स्थित मन्दिरमा फसेका बटुक तथा विद्यार्थीहरुलाई उद्धार गर्न कठिन भएको छ । सिन्धुली प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहृको गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको र अहिलेसम्म उनीहरुलाई उद्धार गर्न नसकिएको हो । सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्द राज काफ्लेले उद्धारको प्रयास जारी रहेपनि सो स्थानमा हेलिकोप्टरसमेत बस्ने अबस्था नरहेपछि उद्धार कार्यमा कठिनाई भएको छ ।
मन्दिरमा सुनकोशी नदी र रोशी खोलाको बाढी पसेपछि अहिले मन्दिरमा आश्रय दिएकाहरुका जीवन संकटमा परेको बताइएको छ । एसपी काफ्लेले प्रदेशखवरसँगको कुराकानीमा उनीहरुको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।
डुब्यो मूलकोट
अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले जिल्लाको सुनकोशी गाउँपालिका(५ स्थित मुलकोट बजारका घर तथा रिसोर्टहरू डुबानमा परेका छन्। आज बिहानदेखि सुनकोशीको बाढी मुलकोट बजारसम्म आएपछि त्यहाँबाट स्थानीयहरु घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् । यो समाचार तयार पार्दासम्म निरन्तर पानी परिरहेको छ ।
योे क्षेत्रमा मानबीय क्षति भने भएको छैन ।
खुर्कोट पनि डुवानमा
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार सुनकोशी नदीमा आएको बाढीले गोलन्जोर गाउँपालिका(७ स्थित खुर्कोटको तल्लो बजारका घर डुबानमा परेका छन्। आज बिहानदेखि खोलामा जलसहत निकै बढ्नेक्रा जारी रहेकाले त्यस क्षेत्रका वासिन्दालाई अन्यत्र सर्न लगाइएको प्रहरीले बताएको छ । यो समाचार तयार पार्दासम्म ७० भन्द बढी घर डुबानमा परेका छन्। बाढीले शसस्त्र प्रहरीको विपद व्यवस्थापन वेस क्याम्पनैं डुवेको छ भने पसलहरूबाट सामानहरू बहिर निकाल्न स्थानीय वासिन्दाले प्रहरीलाई सघाई रहेको एमाले सिन्धुलीका बरिष्ठ नेता केशव देवकोटाले जानकारी दिए ।
१ सय भन्दा बढी बिस्थापित, १ जनाको मृत्यु
लागातारको वर्षाले सुनकोशी नदीको तटीय क्षेत्रमा बस्दै आएका सिन्धुलीका १ सय भन्दा बढी घर परिवार बिस्थापित बनेका छन् । शुक्रवार साँझ खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । विस्थापनको यकिन बिबरण अहिलेसम्म संकलन गर्ने कार्य जारी रहेपनि लगातारको वर्षाका कारणले थप जटिलता सिर्जना भएको एसपी काफ्लेको भनाई छ ।