सङ्कटमा प्राविधिक शिक्षा: छैनन् विद्यार्थी !

जिल्लाका बिभिन्न सामुदायिक विद्यालय र निजी क्षेत्रबाट सञ्चालन गर्दै आएका प्राविधिक शिक्षा सङकटमा पर्न थालेको छ ।
विगत केही वर्ष अगाडि देखी नक्कली विद्यार्थीहरु भर्ना गरेर जसो तसो प्राप्त भएको अनुदानबाट भर्ना भएका विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएका सिन्धुलीका केही प्राविधिक धारका विद्यालयमा यो समाचार तयार पर्दासम्म एक जना पनि विद्यार्थी भर्ना नभएको थाहा लागेको छ ।
प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिन्धुलीका एक दर्जन बढी सामुदायिक विद्यालयहरुले सञ्चालनगर्दै आएका प्राविधिक विषय पढ्ने विद्यार्थीहरु घट्न थालेपछि अहिले सञ्चालकहरुमा छटपटी शुरु भएको हो ।
कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्समा यो समाचार तयार पर्दासम्म एक दर्जन विद्यार्थी भर्ना भएका छन् । विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्ले भन्छन्ः विद्यार्थी भर्ना हुने समय अझै बाँकी छ, हामीलाई आवश्यक पर्ने न्यूनतम् विद्यार्थीहरु भर्ना हुनेछन् ।
स्थानीय तह, व्यवसायिक प्रतिष्ठान र विद्यालय एवम् कलेजहरुमा कम्प्युटरका दक्ष जनशक्तिको अभाव भइरहेका बेला त्यसैलाई पूर्ति गर्ने उदेश्यले विद्यालयमा पठन पाठन थालिएको भएपनि विद्यार्थी संख्या घट्दै गएपछि त्यसको विषयमा छलफल गर्न आवश्यक भएको कमलामाई नगरपालिका शिक्षा समितिका संयोजक उज्वलकुमार थापाले बताए । उनका अनुसार अहिले दक्ष प्राविधिक जनशक्तिको निकै ठूलो माग छ, त्यही मागलाई धान्न र विश्व श्रम बजारमा सहजै बिक्नका लागि पनि प्राविधिक शिक्षा विद्यार्थीहरुको आकर्षण बन्नु पर्ने थियो तर त्यसो हुन सकेन, थापाले अगाडि भने ।
त्यसैगरी सदरमुकामकै गौमती माध्यमिक विद्यालयमा कक्षा ९ देखी १२ सिभिल इन्जिनियरिङको अध्ययन भइरहे पनि विगत वर्षहरुको तुलनामा यस वर्ष विद्यार्थी संख्यामा कमी आएको पाइएको छ । विद्यालयका प्रधानाध्यपाक दिपक बुढाथोकीका अनुसार कक्षा ९ मा सिभिल इन्जिनियरिङ अध्ययन गर्नेको संख्या ३७ जना रहेका छन् । विगत वर्षहरुको भन्दा यो संख्या कम भएपनि यसलाई नराम्रो भने भन्न नसकिने उनको भनाई छ ।
कमलामाई नगरपालिका वडा नं. ४ स्थित बरुणदेवी माध्यमिक विद्यालयले २०७३ सालदेखी सिन्धुली जिल्लामै पहिलो पटक ३ वर्षे एनिमल साइन्स सञ्चालन गरेपनि विगत वर्षदेखी विद्यार्थीनैं पाउन मुस्किल भएको छ ।

समुदायलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य लिएर थालिएको सो विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले तराईका जिल्लामा गएर विद्यार्थी खोज्नेसम्मका काममा क्रियाशिलता देखाएपनि पछिल्लो समय प्राविधकि शिक्षा तर्फ विद्यार्थीहरुको आकर्षण कम हुन थालेकाले धामाधम बन्द हुन लागेको प्राविधिक धारका विद्यालयको अबस्थाले देखाइरहेको छ ।
हिजो साँझ सन्देश जनप्रिसँगको कुराकानीमा प्रअ श्रेष्ठले जिल्लामा एकै विषय अध्ययन अध्यापन गराउन धेरै विद्यालयलाई अनूमति दिएका कारणले पछिल्लो समय विद्यार्थीहरुको अभाव हुन थालेको स्वीकार गरे । ४० जनाको कोटा रहेको बरुणदेवीमा यो समाचार तयार पर्दासम्म एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । श्रेष्ठ भन्छन्ः अब सिन्धुलीमा प्राविधिक धारको पठन पाठन सञ्चालन गर्ने सन्दर्भमा गंभीर छलफल हुन जरुरी छ ।
सस्तो भएपनि विद्यार्थी छैनन् !
सिन्धुलीका विद्यार्थीहरुका लागि प्राविधिक शिक्षा अन्यत्र जिल्लाको तुलनामा निकै सस्तो रहेपनि त्यसलाई राम्ररी बुझ्न नसक्दा स्थानीय विद्यार्थीको संख्या भने घटिरहेको स्वीकार गर्छन् सञ्चालकहरु । कमलामाई नगरपालिका ४ मिलनचोकमा रहेको जनज्योति मावि फास्रेटारले पनि तीन वर्षे बाली विज्ञान पढाइरहेको छ । त्यहाँ पनि विद्यार्थी संख्या न्यून भर्ना भएका छन् । यो समाचार तयार पार्दासम्म कक्षा सञ्चालनका लागि पर्याप्त विधार्थी भर्ना भएका छैनन् ।
सोही विद्यालयको झण्डै एक किमी उत्तरमा रहेको कमला माविले पनि सोही विषयमा विद्यार्थीलाई अध्यापन गराई रहेको छ । कमला माध्यमिक विद्यालय ढुंग्रेवासमा पनि विद्यार्थी संख्या कम हुँदा प्राविधिक विषयहरु टिकाउन भने निकै कठिन भएको विद्यालयका एक शिक्षकले बताए । कमलामा पनि विद्यार्थीहरु भर्ना हुने क्रम निकै घटेको छ, जसले गर्दा पठन पाठनमा समस्या सिर्जना भएको छ ।
त्यसैगरी तीन वर्षे डिप्लोमा इन फरेष्ट्री सञ्चालन गरेको कमला जनज्योति माध्यमिक विद्यालय सिलामे उक्त शैक्षिक कार्यक्रम चलिरहेको छ । तीन वर्षे फरेष्ट्री कोर्षका लागि जम्मा १ लाख ७५ हजार रुपैयाँ लिने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष भने विद्यार्थीहरु उतसाहपूणर् भर्ना भएकाछन् । तर अर्को बर्षको अबस्था भने संकटपूणर् हुनसक्छ प्रधानाध्यापक बिष्णु फुयाँलले भने । पछिल्लो समय स्थानीय निकायलाई सामुदायिक वनको संरक्षणको अधिकार प्राप्त भएपछि प्रत्येक पालिकामा वन संरक्षण अधिकृतको व्यवस्था हुने भएपछि अहिले सिन्धुली जिल्लामा डिप्लोमा इन फरेष्ट्रि अध्ययन गर्नेहरुको रुची बढ्ने अपेक्षाका साथ थालिएको थियो तर अपेक्षा अनुसार विद्यार्थी पाउन सकिएन, फुयाँलले सन्देश जनप्रियसँग भने ।
त्यसैगरी माध्यमिक विद्यालय लदाभिरले वाली विज्ञान तथा व्यवस्थापन समूहमा पठन पाठन गराईरहेको छ । यता सिन्धुली जिल्लामै कृषि विषयको पढाई गर्दै आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेज कपिलाकोटमा भने विद्यार्थी पाउने समस्या नरहेको बताइएको छ । रामपुर कृषि क्याम्पसको आङ्गिक क्याम्पसको रुपमा अध्यापना भएको उक्त क्याम्पसमा भने विद्यार्थीको कुनै अभाब छैन ।

– यो समाचार सन्देश जनप्रियले गएको बुधवार प्रकाशन गरेको थियो ।